१५ असोजबाट आन्तरिक उडान नियमित हुने सम्भावना


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०मा चारवटा महत्वपूर्ण प्रस्ताव पठाएको छ । प्रस्तावअनुसार आन्तरिक उडान खोल्नेदेखि नेपाली आयोजनामा काम गर्ने विदेशी कामदारलाई नेपाल ल्याउनेसम्म रहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार मन्त्रालयले १ असोजबाट आन्तरिक उडान खोल्ने प्रस्ताव मन्त्रालयले गरेको छ । यद्यपी १५ असोजबाट नियमित उडान हुने सम्भावना रहेको उनले जानकारी दिए ।

‘आज हामीले १५ असोजबाट आन्तरिक उडान खुलाउने प्रस्ताव गरेका छौं,’ उनले भने, ‘सम्भवतः त्यसदिनबाट खुल्छ ‘

मन्त्री भट्टराईका अनुसार पहिलो चरणमा कोरोना भाइरसको संक्रमण कम भएको जिल्लामा रहेको विमानस्थलमा उडान सुरु गरिने भएको छ ।

‘प्राथमिकतामा हिमाली र पहाडी इलाकामा रहेका एयरर्पोर्टबाट आन्तरिक उडान शुरु हुन्छ,’ उनले भने । मन्त्री भट्टराईका अनसुसार दशैं र तिहारलाई लक्षित गरी उडान खुलाउने तयारी गरिएको हो ।

मन्त्रालयले आज सीसीएमसीमा पठाएको प्रस्ताव अनुसार अब विदेशमा रोकिएका नेपाली आयोजनामा काम गर्ने कामदारलाई समेत नेपाल आउन अनुमति दिने प्रस्ताव माग गरिएको छ ।

‘विदेशी कामदार रोकिएकै कारण भैरहवा विमानस्थलको काम रोकिएको छ,’ उनले भने, ‘अब हामी उनीहरुलाई नेपाल ल्याउने तयारीमा छौं ।’

८ सयको कोटा हट्यो

सरकारले दैनिक ८ सय जना मात्रै विदेशबाट यात्रु ल्याउन पाउने गरी तय गरेको कोटा पनि हटाएको छ । यो कोटा हटाएर नियमित उडान सुरु भएका मुलुकबाट एयरलाइन्सले चाहे अनुसार नै यात्रु ल्याउन दिइने भएको छ ।

नयाँ नियम अनुसार दैनिक २ देखि ३ हजारसम्म यात्रु नेपाल आउने अनुमान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले यसको जानकारी दिएका छन् ।

योसँगै सरकारले खोलेको अन्तर्राष्ट्रिय व्यवसायिक ९नियमित०उडानतर्फ एयरलाइन्सले अनुमति मागेमा थप उडानको अनुमति पाउने भएका छन् ।

भट्टराईका अनुसार उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रममन्त्रीबीचको छलफल र प्रधानमन्त्री केही शर्मा ओलीसँगको परामर्शबाट उडान थप गर्ने निर्णय गरिएको हो ।


उनका अनुसार अब पीसीआर नेगेटिभ भएका मात्र यात्रु ल्याउने गरी नियमित उडान खुला भएको मुलुकमा अब एयरलाइन्सले थप अनुमति मागेमा मन्त्रालयले उडानको अनुमति दिने भएको छ । हालको पीसीआर र क्वारिन्टिनसम्बन्धी नियमलाई यथावत राखेर कोटा हटाइएको हो ।

अर्कोतर्फ कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल ल्याउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति दिने निर्णय समेत गरेको छ ।

मन्त्री भट्टराईका अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँगको समन्वयमा उडानको व्यवस्था हुने भएको छ ।

उनका अनुसार नियमति उडान भएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि समेत माग आएमा उडान थप गर्न सकिने गरी निर्णय भएको छ ।

पर्यटकलाई अनुमतिको प्रस्ताव

मन्त्रालयले अब गैरआवासीय नेपाली र पर्यटकलाई समेत स्वास्थ्य प्रोटोकल पुरा गरी नेपाल आउन अनुमति दिने गरी केन्द्रमा प्रस्ताव लगेको छ ।

‘पर्यटन क्षेत्रले ६ महिनाभन्दा लामो समय धैर्य गरेको छ, उनले भने, ‘अब क्रमशः स्वास्थ्यका नियम पालना गरी हामी पर्यटन गतिविधि अगाडी बढाउने योजनामा छौं ।’

उनका अनुसार आज बिहीबार नै अन्तर्राष्ट्रिय नियमित उडानलाई संख्या बढाएर यसअघि लगाएको कोटा हटाउने निर्णय समेत भएको छ ।

अब दैनिक उडानको संख्या मागका आधारमा स्वतः बढ्ने गरी निर्णय भएको मन्त्री भट्टराईले जानकारी दिए ।

बिहीबार आर्थिक पत्रकार समाजसँगको आर्थिक बहसमा भाग लिँदै मन्त्री भट्टराईले अब सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि योजनावद्ध रुपमा काम भइरहेको जानकारी दिए ।

प्रकाशित मितिः     7:44:22 AM  |