नेपालगन्ज ४ भदौ : बाँकेका यातायात ब्यवसायीहरुले वर्तमान भाडादरमा थप ५० प्रतिशत भाडा बृद्धि गरेर टिकट नकाट्ने यातायात प्रालिलाई कारवाही गर्ने निर्णय गरेका छन् ।
नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमको उपस्थितीमा आईतबार सम्पन्न बाँकेका यातायात ब्यवसायीहरुको बैठकले सरकारले निर्धारण गरेको दररेट अनुसार भाडा घटाउने वा बढाउने कार्यलाई निषेध गरेका छन् ।
नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति बाँकेका संयोजक टंक प्रसाद बस्यालको अध्यक्षतामा बसेको बैठकले कोरोनाका कारण यातायात क्षेत्र प्रभावित भएकाले हाल लिईरहेको भाडामा ५० प्रतिशत थप गरि लिने निर्णय गरेको हो ।
बैठकले तय गरेको भाडादरमै लामो तथा छोटो दुरीका गाडीको टिकट काट्न समेत बैठकले सबै यातायात प्रालिलाई आह्वान गरेको छ ।
साथै जिल्ला बाहिरका अन्य यातायात समिति र प्रालिहरुका गाडी सम्बन्धित जिल्लामा फिर्ता पठाउने निर्णय समेत भएको छ । यसका अलावा बाँके जिल्लाभित्र रहेका यातायात प्रालि र समितिहरुको एकद्धार प्रणालीद्धारा संचालन तथा ब्यवस्थापनकालागि कार्यदल समेत गठन गरीएको छ ।
भेरी बस यातायात प्रालिका जुना बहादुर थापा संयोजक रहने गरी ११ सदस्यीय कार्यदल गठन गरीएको कार्यदलका सदस्य तथा अखिल नेपाल यातायत मजदुर संगठनका केन्द्रीय उपमहासचिव राज कुमार बिसीले जानकारी दिए ।