प्रदेश ५ अब : नाम लुम्विनी, राजधानी भालुवाङ


नेपालगन्ज १६ असोज :  प्रदेश ५ को स्थायी राजधानीका लागि दाङको राप्ती गाउँपालिकास्थित भालुवाङमा रहने गरी प्रस्ताव गरिएको छ । यसैगरी प्रदेशको नाम लुम्बिनी रहने गरी प्रदेश सभामा प्रस्ताव पेश भएको हो ।

शुक्रबार बसेको प्रदेश सभाको ६ औं अधिवेशन तथा २९ औं बैठकमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्ताव पेश गरेका हुन् ।

प्रदेश सभाको दुईतिहाइ बहुमतले पारित गरेपछि प्रदेशको स्थायी राजधानी र नामको अन्तिम टुंगो लाग्नेछ । प्रदेश सरकारले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।

भालुवाङ बजार बुटवलबाट करिब १०५ किलोमिटर पश्चिम राप्ती नदीको किनारमा अवस्थित छ । पूर्व(पश्चिम राजमार्गमा पर्ने यो बजारबाट नेपालगञ्जको दुरी करिब १५८ किलोमिटर छ । यसअघि केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दाङमा प्रदेश राजधानी बनाउने सहमति जुटेपछि प्रदेश सरकारले निर्णय गरेको हो ।

प्रकाशित मितिः     १६ आश्विन २०७७, शुक्रबार १४:५९  |