टिकटको मूल्य घटाउँदा पनि पाइएनन् एयरलाइन्सले यात्रु


काठमाडौं । दसैंका लागि भनेर गएका वर्षहरूमा एक महिना अघिदेखिनै हवाई टिकट बुकिङ सकिसकेको हुन्थ्यो । यो बेला हत्तपत्त टिकट पाइँदैनन् थियो भने पाइहाले पनि महँगो शुल्क तिर्नुपर्ने बाध्यता थियो । तर,अहिले समय बदलिएको छ । यो वर्ष हवाई टिकटको मूल्य बसको टिकट मूल्य सरहमा बेच्दासमेत यात्रुको कुनै चाप छैन ।

अग्रिम बुकिङका लागि कुनै चहलपहल सुरु भएको छैन । अहिले दैनिक उडानसमेत गत वर्षको भन्दा धेरै कम छ । त्यसमाथि उपत्यका छोड्नेहरूको संख्या केही बढी भए पनि उपत्यकाभित्र आउनेहरूको संख्या न्यून रहेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमितहरूको संख्या दैनिक रुपमा उपत्यकाभित्र बढ्दै गएको कारण पनि दसैंमा घर जाने र काठमाडौंमा आउने यात्रुहरूको संख्या निकै न्यून रहेको बुझिएको छ ।

दसैंका टीका आउन अब १४ दिन मात्र बाँकी छ । अहिलेसम्म दसका लागि भनेर विशेष बुकिङ खुला नगरिएको बुद्ध एयरका मार्केटिङ चिफ रुपेश जोशीको भनाइ छ । यात्रुहरूको चाप निकै कम रहेको र अग्रिम बुकिङको कुनै माग नआएको उनको भनाइ छ ।

बुद्धले अन्य समयमा दैनिक ५ देखि ६ हजारसम्म यात्रुहरू ओसारपसार गर्ने गरेकोमा हाल मुस्किलले ३ हजारसम्म हुने गरेको उनले बताए । यात्रुहरूको उत्साहनै कम भएकाले अग्रिम बुकिङ खुला नगरिएको उनको भनाइ छ ।

श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले पनि यात्रुहरूमा दसंैको रौनक नभएको बताए ।

‘गत वर्षहरूमा दसंैको बेला जुन चाप हुन्थ्यो, त्यो चाप अहिले छैन, प्रवक्ता मानन्धरले भने, त्यही भएर अग्रिम टिकट खुला गरेका छैनौं’ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दसंैका लागि भनेर यात्रुहरूबाट टिकट बुकिङ नभएको बताए । दैनिक उडानका लागि यात्रुहरू प्रायः भरिभराउनै छन्, दसैंकै लागि भनेर टिकट काट्नेहरू भने छैनन्, उनले भने ।

यात्रुको चाप कम भएकै कारण एयरलाइन्सहरूले पनि दसंै तिहार विशेष भनेर अग्रिम टिकट खुलाउने पक्षमा नभएको बताउँछन् । कोभिडको संक्रमितहरू दैनिक रुपमा बढिरहेको र फेरि लकडाउन हुने हल्लाले पनि यात्रुहरूले अग्रिम बुकिङ गर्न नचाहेको हुन सक्ने एयरलाइन्सका अधिकारीहरूको भनाइ छ ।

अहिले एयरलाइन्सहरूले बसकै भाडामा हवाई टिकट बिक्री गरिरहेको छ । पोखरा, धनगढी लगायतका क्षेत्रको हवाई भाडा निकै सस्तो भएको छ । पोखराको टिकट १८ सयदेखि २५ सयसम्म रहेको छ भने धनगढीको टिकट ३ हजार ५ सय रुपैयाँमै दिन थालिएको छ । जसका कारण बसमा यात्रा गर्ने यात्रुहरूसमेत जहाजमै जान थालेको देखिन्छ ।

अहिले बुद्धले दैनिक ३०, यतीले १५ देखि १८, श्रीले ८ देखि १० वटा उडान गर्दै आएका छन् । यसबाहेक सिम्रिक, तारा, सीता, समिटले पनि दैनिक उडानहरू गर्दै आएका छन् ।

प्रकाशित मितिः     २८ आश्विन २०७७, बुधबार ०७:२२  |