८६ करोड विदेशी मुद्रा अपचलन गरेको आरोपमा मोबाइल व्यापारीलाई मुद्दा


विदेशी मुद्रा अपचलनको आरोपमा राजश्व अनुसन्धान विभागले दुई जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

जेएसइ मोबाइल कलेक्सन एन्ड सर्भिसेज प्रा.लि. र श्याम इम्पेक्सका सञ्चालक मोहन वंशल र गोविन्द वंशलविरूद्ध मंगलबार अदालतमा मुद्दा दायर गरेको हो।

दुवैलाई ८५ करोड ९५ लाख २२ हजार ७२७ रुपैयाँ बिगो र बिगोको तीन गुणा जरिवाना तथा तीन वर्ष कैद सजाय माग गरिएको विभागले जनाएको छ। वंशलद्वयले विदेशमा निर्मित मोबाइल, मेमोरी कार्ड लगायतका मालवस्तु पटक-पटक भन्सार नतिरी चोरी पैठारी गरी ल्याउने गरेको विभागको भनाइ छ।

दुवैले मालवस्तुको निकासी वा पैठारी गर्दा अनिवार्य भन्सार बिन्दुमा मालवस्तुको घोषणा गर्ने र लाग्ने महशुल भुक्तानी गरी निकासी/पैठारी गर्नुपर्ने कानुनी व्यवस्थाको विपरीत कार्य गरेको विभागले जनाएको छ।

यस्ता मालवस्तु तेश्रो मुलुकबाट नेपाल सरहदभित्र ल्याउँदा विदेशी मुद्रा भुक्तानी नगरी ल्याउन नसकिने देखिँदा ठूलो मात्रामा विदेशी मुद्रा गैरकानुनी तवरले विदेश पठाएर विदेशी विनिमय अपचलन गरेको विभागको अनुसन्धान छ।

उनीहरूले सो बराबरको विदेशी विनिमय अपचलन गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४, दफा ८(२) र दफा ९(ग) बमोजिम कसुर गरेको देखिएकोले मुद्दा दायर गरिएको विभागले जनाएको छ।

प्रकाशित मितिः     २८ आश्विन २०७७, बुधबार १९:३४  |