पढ्नैपर्ने पुस्तक ‘चौकीदारदेखि वकिलसम्म’


नेपालगञ्ज– अधिवक्ता लोकबहादुर शाहको संस्मरणात्मक पुस्तक ‘चौकीदारदेखि वकिलसम्म’ बिहीबार नेपालगञ्जमा विमोचन भएको छ।

क्रियटिभ बुक्सले पुस्तक प्रकाशन गरेको हो। उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका मुख्य न्यायाधीश पवनकुमार शर्माले पुस्तक विमोचन गरे। न्यायाधीश शर्माले पुस्तकमा तत्कालीन सामाजिक परिवेश र भोगाइहरु समेटिएको चर्चा गर्दै यसले नयाँ पिढीलाई प्रेरणा मिल्ने बताए।

नेपाल बारका केन्दीय उपाध्यक्ष सुनिल श्रेष्ठ र शिक्षाकर्मी शशी स्वाँरले पुस्तकमाथि टिप्पणी गरे। टिप्पणीकार अधिवक्ता श्रेष्ठले शाहको सुरुवाती संघर्ष र सफलता हरेक युवा पेशाकर्मीका लागि प्रेरणा हुने बताए।

शिक्षाकर्मी स्वाँरले अछाम तथा सुदूरपश्चिमको तत्कालीन अवस्थाको पुस्तकमा चित्रण गरिएकाले अध्यताका लागि पुस्तक उपयोगी हुने बताए। पुस्तक हरेक पेशा र व्यवसायमा रहेका व्यक्तिहरुका लागि प्रेरणादायी हुने स्वाँरको भनाइ थियो।

क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले हरेक मानिसका आ–आफ्ना कथा र भोगाइ हुने भएकाले त्यसलाई पुस्तकमा लिपीवद्ध गर्दा नयाँ पुस्तालाई त्यसले प्रेरणा दिने बताए। समाजका हरेक व्यक्तिले आफ्नो संघर्ष, भोगाइ र सफलता समेटेर पुस्तकार दिनुपर्नेमा अध्यक्ष ठकुरीले जोड दिए।


पुस्तकको सम्पादन पत्रकार जनक नेपाल र कुमार श्रेष्ठले गरेका हुन्।

विमोचन समारोहमा न्यायाधीशहरु गोकर्ण डाँगी र विमल सुवेदी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवलशमशेर राणा, वरिष्ठ अधिवक्ता गिरिबरप्रसाद अग्रवाल, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, कैलपाल एकेडेमीका प्रबन्ध निर्देशक सञ्जय सिंह, निर्देशक रेवती सिंह, डा रुपानन्द अधिकारी, डा गौरव श्रेष्ठ, डा कुमारशान शाह, आशीर्वाद पेन्ट्सका अध्यक्ष किरण कार्की, डा जनार्दन आचार्य लगायतको उपस्थिति थियो।

 

 

प्रकाशित मितिः     6:14:01 PM  |