गस्तीमा हिडेका चौकी इन्चार्ज कैलालीमा मृत फेला, जवान बेपत्ता


धनगढी– जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक  गोविन्द बिक मृत फेला परेका छन्। चौकीमै कार्यरत एकजना जवान बेपत्ता छन्।

तस्कर सँगको भिडन्तमा असई बिक मारिएको आशंका गरिएको छ। सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले शव मोहना नदीको पानीमा घोप्टो परेको अवस्थामा भेटिएको र सनाखतलगायतका प्रकृया चलिरहेको जानकारी दिए।

शनिवार राति ८ बजेतिर जवान साउदलाई मोटरसाइकलमा राखेर असई बिक गस्तीमा निस्केका थिए। १० बजेसम्म पनि उनी नफर्किएपछि खोजी सुरु गरिएको थियो। आइतवार बिहान शव मोहना नदीमा फेला परेको थियो। मोहना नदीले कैलालीको नेपाल–भारत सीमा छुट्टयाउछ।

असई सँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँद बेपत्ता छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। एकदिन अघि मात्रै प्रहरी चौकी जुगेडाले भन्सार छलि गरेर भारतबाट तस्करहरुले भित्र्याउदै गरेको सूर्तीलगायतका अबैध सामान बरामद गरेको थियो।

प्रकाशित मितिः     २ कार्तिक २०७७, आईतवार १०:५०  |