अस्ताए गुर्भाकोटको गाउँ-गाउँमा पुगेर किसानको सेवा गर्ने लिलाराम डाँगी


गुर्भाकोट(सुर्खेत) :  गुर्भाकोट नगरपालिका वडा नं. ४ का भेटनरी प्राविधिक लिलाराम डाँगीको निधन भएको छ ।

ब्रेनमा गम्भीर समस्या भएपछि बेहोस अवस्थामा उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएका डाँगीको ३५ वर्षको उमेरमा मंगलवार निधन भएको हो ।

जुरिचुला एग्रोभेट बोटेचौरका सन्चालक डाँगीको पसलमा नै अचानक बेहोस भएका थिए ।

त्यहीबाट उनलाई उपचारका लागि कोहलपुर ल्याइएको थियो । तीनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा कुनै सुधार आएन ।

चिकित्सकले प्रयास गर्दा पनि उनको निधन भयो । ब्रेन ह्यामरेजका कारण उनको निधन भएको चिकित्सक बताउँछन् ।
कृषि प्राविधिक रहेका डाँगी गुर्भाकोटका कृषकका सारथी जस्तै थिए ।

कृषि प्राविधिको पहुँच नभएका ठाउँमा समेत उनी पुगेर सेवा दिन थालेका थिए ।


पशुको उपचार सहज र सरल भएकै कारण धेरैले उनलाई नै देखेर पशुपालन गरिरहेका थिए । कुनै समस्या भए लिलारामलाई आइहाल्छ भनेर पशुपालन गरेका कृषकहरु उनको निधनदेखि स्तब्ध छन् ।

डाँगीका आफन्त एवं अगुवा पशुपालक कृषक ज्ञानबहादुर डाँगीका अनुसार, लिलाराम जस्तोसुकै अवस्थामा समेत कृषकको सेवामा उपस्थित हुन्थे । पैसा नभएका कृषकलाई उधारोमै काम गर्थे ।

कहिल्यै पशु प्राविधिक नपुगेको ठाउँमा गएर सेवा दिन थालेका कारण उनलाई गुर्भाकोटमा रुचाउनेको संख्या धेरै ।

पारेखेत कृषि सहकारीका अध्यक्ष महेश ओलीले भने, परिवारका सदस्यले मात्र लिलारामलाई गुमाएनन् गुर्भाकोटले किसानको सारथी गुमाएको छ ।
कलिलो उमेरमा गम्भीर बिरामीले डाँगीको निधन भएपछि परिवारका सदस्य मात्र होइन गुर्भाकोटबासी स्तब्ध भएका छन् । डाँगीको तीन जना बच्चाहरु छन् ।

उन घरको एक्लो छोरो थिए । हालै मात्र उनले बोटेचौरमा ऋणधन गरेर घर सहित एग्रोभेट पसल सन्चालन गरेका थिए । अब राम्रो होला भन्ने अवस्थामा उनको निधन भएको छ ।

प्रकाशित मितिः     ४ कार्तिक २०७७, मंगलवार १६:४४  |
error: Content is protected !!