ट्रम्पले चार वर्षमा कसरी बदले दुनियाँ ?


बीबीसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति केबल एउटा सिङ्‍गो देशका प्रमुख मात्र होइनन्, उनी पृथ्वीकै सबैभन्दा शक्तिशाली व्यक्तित्व मानिन्छन् । जसले संसारभरको जीवन प्रभावित गर्न सक्छन् । तर अनौठा नीति, विवाद अनि चर्चाबीच राष्ट्रपति ट्रम्पका चार वर्ष भने अन्य देशप्रमुखको तुलनामा धेरै फरक रह्‍यो । उनको कार्यकालमा दुनियाँले अनेकौँ थरीका अप्रत्याशित बदलावहरू अनुभव गरेको छ ।

विश्‍वले अमेरिकालाई हेर्ने दृष्टिकोण :
ट्रम्प राष्ट्रपति भएयता सबैभन्दा पहिले त विश्‍वले अमेरिकालाई हेर्ने दृष्टिकोण नै बदलिएको मानिन्छ । ट्रम्पले बारम्बार अमेरिकाको नाम लिँदा ‘विश्‍वकै सबैभन्दा महान् देश’ भन्‍ने गरेका छन् तर ‘प्यु रिसर्च सेन्टर’ ले १३ वटा मुलुकमा हालै सञ्चालन गरेको सर्वेक्षणमा भने उनले अमेरिकाको छविलाई महान् तुल्याउन खासै केही नगरेको देखिएको छ । जस्तै युरोपेली मुलुकका जनताहरूमा अहिले अमेरिकाको सकारात्मक छवि हुनेको दर २० वर्षकै कम रहेको पाइएको छ ।

बेलायतमा ४१ प्रतिशतले मात्र अमेरिकाको पक्षमा धारणा दिएका हुन् भने फ्रान्समा यसको दर केबल ३१ प्रतिशत छ जुन २००३ पछिकै सबैभन्दा कम हो । यता जर्मनीमा चाहिँ २६ प्रतिशतले अमेरिकाप्रति सकारात्मक दृष्टिकोण व्यक्त गरेका हुन् ।

अन्य राष्ट्रप्रमुखभन्दा ट्रम्पमाथि कम भरोसा
विश्‍वव्यापी घटनाहरूमा कुन देशका प्रमुख उचित निर्णय र कार्य गर्न सक्षम छन् भन्नेमा ‘कन्फिडेन्स’ या ‘नो कन्फिडेन्स’ जनाउनेसम्बन्धी यसअघि अस्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, जापान, नेदरल्यान्डस्, दक्षिण कोरिया, स्विडेन र बेलायतमा जनसर्वेक्षण जारी गरिएको थियो । यसमा जर्मनीकी मर्केलले उचित कदम उठाउनेमा सबैभन्दा धेरै, ७६ प्रतिशतले विश्‍वास जनाएका हुन् । फ्रान्सका म्याक्रोनको पक्षमा ६४ प्रतिशत, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनमा भरोसा जनाउनेहरू ४८ प्रतिशत थिए । यता रुसका पुटिन, चीनका जिनपिङ अनि ट्रम्पले भने यसमा ‘नो कन्फिडेन्स’ बढी प्राप्त गरेका हुन् । विशेषगरी ट्रम्पको निर्णय उचित हुनेमा शंका गर्नेहरू सबैभन्दा धेरै, ८३ प्रतिशत रहेको पाइएको हो । उनमा भरोसा जनाउनेचाहिँ १६ प्रतिशत मात्र थिए ।

वास्तवमा कोरोना महामारीमा अमेरिकाको प्रतिक्रिया पनि यस्तो नतिजाको मुख्य कारण हुन सक्ने बताइएको छ । जनसर्वेक्षणअनुसार जुन र अगस्तका बीच १५ प्रतिशतले मात्र अमेरिकाले भाइरस राम्ररी सम्हालिरहेको महसुस गरेको बताएका हुन् ।

जलवायु परिवर्तनको विषयबाट पछि हट्नु
राष्ट्रपति ट्रम्पले धेरैपटक आफू जलवायु परिवर्तनमा विश्‍वास नराख्ने कुरा स्पष्ट पारिसकेका छन् । उनले यसलाई ‘महङ्गो र बनावटी कुरा’ बताउने गरेका छन् । राष्ट्रपति नियुक्त भएको ६ महिनामै उनले वैज्ञानिकहरूको तथ्याङ्‍क बहिष्कार गर्दै पेरिसको जलवायु सम्झौताबाट अमेरिकालाई बाहिर निकाल्ने घोषणा गरेका हुन् । सो सम्झौतामा झन्डै २०० मुलुक सहभागी छन् जो विश्‍व तापमानलाई २ डिग्रीभन्दा बढ्न नदिने प्रतिबद्ध छन् । उनको सो निर्णयले चौतर्फी आलोचना र विवाद सिर्जना गरेपनि ट्रम्प आफ्नो अडानबाट पछि हटेनन् ।

यसरी अमेरिका चीनपछिकै सबैभन्दा बढी ग्रिनहाउस ग्यास उत्सर्जन गर्ने देश भएर पनि जलवायु सम्झौताबाट बाहिरिनु सबैका लागि ठूलो झट्का थियो । यसकारण पनि वैज्ञानिकहरूले ट्रम्प पुनः निर्वाचित भए ‘ग्लोबल वार्मिङ’ लाई ठीक ठाउँमा राख्न असम्भव हुने चेतावनी दिइरहेका छन् । ट्रम्पले कोइला, तेल र ग्यास उत्पादन गर्दा पालन गर्नुपर्ने वातावरणमैत्री नियमहरू पनि यसअघि हटाएका थिए । पेरिस जलवायु परिवर्तनबाट अमेरिका बाहिरिने निर्णय नोभेम्बर ४ अर्थात निर्वाचनको भोलिपल्टदेखि कार्यन्वयन हुनेछ ।

केही देशका लागि बन्द भयो अमेरिकी सिमाना
राष्ट्रपतिको कार्यभार सम्हालेको केही सातामै ट्रम्पले लिएको अर्को प्रमुख निर्णय भनेको सातवटा मुसलमान-बाहुल्य मुलुकबाट आउने यात्रुका लागि अमेरिकाको सिमाना बन्द गर्नु रहेको थियो । हाल १३ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध जारी छ । विदेशमा जन्मिएका र अमेरिकामा बस्नेहरू २०१९ मा २०१६ भन्दा ३ प्रतिशतभन्दा बढी छन् तर ती आप्रवासीहरू को र कहाँबाट आएका हुन् भन्नेमा चाहिँ धेरै ठूलो भिन्नता देख्‍न सकिन्छ ।

यता मेक्सिकोमा जन्मिएका अमेरिकीवासीहरूको सङ्ख्या ट्रम्प प्रशासनमा निरन्तर घटिरहेको छ । अमेरिकामा स्थायी बसोबास गर्ने भिसासम्बन्धी नियममा पनि कडाइ गरिएको छ । त्यस्तै ट्रम्पको आप्रवाससम्बन्धी नीतिअन्तर्गत उनले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने घोषणा गर्दा पूरै विश्‍व आश्चर्यमा परेको पनि भुल्न सकिँदैन । तर पनि अमेरिका प्रवेशको प्रयास गर्नेहरूको सङ्ख्या अहिले १२ वर्षकै उच्च पुगेको छ ।

‘फेक न्युज’ को उत्पति
२०१७ को एउटाअन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफूले अहिलेसम्मकै प्रभावशाली शब्द ‘फेक’ को उत्पति गराएको बताएका थिए । र वास्तवमै उनले ‘फेक न्युज’ भन्ने शब्द आफैँले नबनाए भए पनि यसलाई विश्‍वव्यापी चर्चामा ल्याउने काम भने अवश्य गरेका हुन् । सामाजिक सञ्चालका पोस्ट र ‘अडियो ट्रान्सक्रिप्ट’ हरूको निरीक्षणपछि ‘फ्याक्टबेस’ ले २०१६ को डिसेम्बरमा ट्रम्पले पहिलोपटक यो शब्दबारे ट्‌विट गरेदेखि अहिलेसम्म यसलाई २ हजारभन्दा धेरै चोटी प्रयोग गरिसकेको पत्ता लागेको हो ।

आजको दिनमा हामीले गुगलमा गएर ‘फेक न्युज’ सर्च गर्‍यौं भने विश्‍वभरबाट १.१ अर्बभन्दा बढी नतिजा देख्न सकिन्छ । २०१६ सम्म पनि ह्वाइटहाउसमा फेक न्युजको अर्थ गलत रिपोर्ट मात्र थियो जस्तै पोप फ्रान्सिसले ट्रम्पलाई राष्ट्रपतिका लागि प्रयोजित गरिएको भन्ने खबरलाई फेक न्युज भनिन्थ्यो तर अहिले यो शब्दको प्रयोग लोकप्रिय बन्दै जाँदा यसले दिने अर्थ पनि धेरै फेरिसकेको पाइन्छ । हाल जस्तासुकै गलत सूचना र जानकारीलाई पनि फेक न्युज भन्ने गरिएको छ । राष्ट्रपति ट्रम्पको सन्दर्भमा उनले आफू असहमत भएको समाचारहरूलाई प्रायः फेक न्युजको संज्ञा दिने गरेका छन् ।

त्यसैगरी २०१७ मा उनले अर्को एउटा वाक्यांश पनि प्रचलनमा ल्याएका थिए, “अमेरिकी जनताको सबैभन्दा ठूलो दुश्मन’ । यसलाई उनले विभिन्न समाचार र लेखहरूलाई लक्षित गर्दै भनेका थिए र तिनै शब्द पछि गएर थाइल्यान्ड, फिलिपिन्स, साउदी अरब, बहराइनलगायत राष्ट्र प्रमुखहरूले पनि अनुसरण गरेको पाइयो ।

यता कतिपय स्थानमा चाहिँ सरकारले ‘फेक न्युज’ शब्दलाई दुरुपयोग गरी आफूविरुद्धका अभियन्ता अनि पत्रकारहरूलाई दबाउने प्रयास गरेको पनि पत्ता लागेको छ । राजनीतिज्ञहरूले विश्‍वसनीय रिपोर्टिङलाई पनि फेक बताउँदै सर्वसाधारणलाई सत्यबाट टाढा राख्न खोजेको सिभिल सोसाइटी समूहको आरोप छ ।


अमेरिकाको अन्त्यहीन युद्ध र मध्यपूर्वमा सम्झौता
२०१९ मा ‘स्टेट अफ द युनियन’ को सम्बोधनमा ट्रम्पले अमेरिकी सेनालाई सिरियाबाट फिर्ता ल्याउने वचन दिएका थिए । उनले यसमा ‘महान् देशले अन्तयहिन लडाइँ लड्दैन’ भनेर घोषणा गरेका हुन् । तर उनको सो भनाइ बोलीमा मात्र सीमित भयो किनकि पछि उनी आफैँले तेलका भन्डारणहरू सुरक्षित राख्नका लागि पाँच हजार सेना सिरियामा राख्ने निर्णय गरे । त्यसैले उनको प्रशासन सुरु हुँदा जति सेना बाहिर थिए आज पनि सबैतिर त्यति नै अमेरिकन फोर्सहरू छरिएर रहेको पाइन्छ ।

यता २०१८ मा पूर्वराष्ट्रपतिहरूले विरोध गर्दै आएको कुरा खण्डन गर्दै ट्रम्पले अमेरिकी दूतावासलाई टेल अभिभबाट जेरुसेलममा सारेपछि यसले अर्को ठूलो विवाद सिर्जना गरेको हो । वर्षौंदेखि विवादित क्षेत्रका रुपमा रहँदै आएको जेरुसेलमलाई उनले इजरायलको राजधानीका रुपमा परिचित गराएका हुन् । यही विषयमा प्यालेस्टाइन र इजरायलबीच गाजा क्षेत्रमा भएको ठूलो हिंसात्मक लडाइँमा धेरैले ज्यान गुमाउनुपरेको थियो । त्यस्तै गत महिना बहराइन र यूएईले इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्ने सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पले नयाँ मध्यपूर्वको उदय भएको घोषणा गरेका थिए । यसलाई ट्रम्प प्रशासनको सबैभन्दा ठूलो उपलब्धि पनि भन्ने गरिएको छ ।

व्यापारिक सम्झौताको कला
ह्‌वाइट हाउस प्रवेशको पहिलो दिन नै ट्रम्पले ‘ट्रान्स-प्यासेफिक पार्टनरसीप’ नामक सम्झौता रद्द गरिदिएका थिए । ओबामा प्रशासनले स्वीकृत गरेको सो सम्झौता १२ वटा देशबीचको व्यापारिक सम्झौता थियो जसलाई ट्रम्पले ‘भयानक’ नाम दिएका हुन् । उनको सो निर्णयले मुख्य रुपमा चीनलाई फाइदा गरायो जसले सो सम्झौता एसिया-प्यासिफिक क्षेत्रमा आफ्नो प्रभाव कम गराउने प्रयासका रुपमा लिने गरेको थियो । अमेरिकामा पनि यसले रोजगारीलाई नराम्ररी प्रभावित पार्छ भनेर आलोचना गर्दै आएकाहरूले खुसी मनाएका हुन् ।

यसपछि ट्रम्पले क्यानडा र मेक्सिकोसँग उत्तर अमेरिकन निःशुल्क व्यापारिक सम्झौतामा पनि पुनः छलफल गरेका हुन् । यसअघिको सम्झौतालाई दुनियाँकै सबैभन्दा खराब डिल बताउँदै उनले थोरै पक्षमा केही परिवर्तन ल्याएका थिए । ट्रम्प आफ्नो पूरै कार्यकाल विश्‍वसँगको व्यापारबाट अमेरिकाले केकस्तो फाइदा पाउँछ भन्नेमा केन्द्रित रहेको पाइन्छ । यसैको परिणाम स्वरुप चीनसँग अत्यन्तै नराम्रो व्यापार युद्ध सुरु भएको हो जसमा विश्‍वका दुई ठूला अर्थतन्त्रले एक(अर्काबाट आयातित वस्तुहरूमा अर्बौँ डलरबराबरको कर लगाए । यसले विशेषगरी अमेरिकाका सोयाबिन किसान र गाडी अनि प्राविधिक उद्योगहरूलाई मारमा पारेको छ । चीन पनि यसबाट प्रभावित भयो र आफ्ना वस्तुको मूल्य घटाउन उद्योगहरूलाई भियतनाम, कम्बोडिया स्थानान्तरण गराएको छ । यसरी ट्रम्पले जारी गरेको ट्यारिफबाट बच्‍न अमेरिकी कम्पनीहरूले पछिल्ला वर्षहरूभन्दा केही थोरै वस्तु आयात गरे तर अझैपनि अमेरिकाले निर्यात भन्दा बढी सामान आयात नै गर्ने गरेको छ ।

चीनसँगको टक्कर
२०१६ मा राष्ट्रपति निर्वाचित हुनासाथै ट्रम्पको अप्रत्याशित पहिलो कदम ताइवानको राष्ट्रपतिसँग सीधा फोन सम्पर्क गर्नु रहेको थियो । उनको सो निर्णयले बेइजिङलाई आक्रोशित र चिन्तामा पार्नु स्वभाविक थियो । र चीनलाई भड्काउने यस्ता थुप्रै कदमपश्चात् आज अमेरिका र चीनबीचको सम्बन्ध सबैभन्दा तल्लो स्तरमा पुगेको छ । पछिल्ला चार वर्षमा अमेरिकाले विवादित दक्षिण चिनियाँ समुद्रमा चीनको दाबीलाई अवैधानिक घोषणा गर्‍यो, चीनबाट आयातित वस्तुहरूमाथि भारी ट्यारिफ जारी गर्‍यो, लोकप्रिय चिनियाँ एप टिकटक र वीच्याट माथि प्रतिबन्ध लगायो, चिनियाँ टेलिकम कम्पनी हुवावे राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण भएको दोष लगाउँदै कम्पनीको नकारात्मक छविको प्रचार गर्‍यो । यस्ता चीनविरोधी गतिविधि ट्रम्प प्रशासनमा झन्डै सामान्य बनिसकेका थिए ।

यति मात्र नभएर २०१९ मा चीनको वुहानमा पहिलोपटक फेला परेको कोरोना भाइरसलाई पनि राष्ट्रपति ट्रम्पले ‘चाइना भाइरस’ को नाम दिएर अर्को तनाव उत्पन्न गराएका थिए । महामारीको रुप लिएको कोभिड(१९ ले गराएको आर्थिक एवम् मानव क्षतिका लागि ट्रम्पले बारम्बार चीनलाई दोष लगाउँदै आएका छन् ।

इरानसँगको तनावपूर्ण स्थितिले युद्ध निम्त्याउन लाग्दा
२०१९ को ‘न्यु इयर इभ’ का दिन ट्रम्पले इरानलाई धम्कीपूर्ण ट्‍‌विट गर्दा, नयाँ वर्षको दिन ‘तेस्रो विश्‍व युद्ध’ सुरु हुन सक्नेबारे व्यापक चर्चा भएको थियो भने ट्‌विटरमा पनि यो विषय नम्बर १ मा ट्रेन्डिङ बनेको थियो । उनले इरानलाई अमेरिकी बेसमाथिको हमलापछि भएको जनधनको क्षतिका लागि पूर्ण रुपमा जिम्मेवार ठहर्‍याउँदै यसको भयानक परिणाम भोग्नुपर्ने र यो केबल चेतावनी मात्र नभएर धम्की भएको लेखेका थिए ।

यसको केही दिनपछि मात्र अमेरिकाले इरानका सबैभन्दा शक्तिशाली जेनेरल कासिम सुलेइमानीको हत्या गरी सबैलाई ठूलो झट्का दिएको हो । यसैको जवाफमा इरानले पनि अमेरिकाका दुई सैन्य बेसमा दर्जनौँ ब्यालेस्टिक मिसाइलले हमला गर्‍यो । यसबाट १०० भन्दा बढी अमेरिकी सेना घाइते भएको खबर गरिएको थियो । विश्‍वविद्हरूले त्यसैबेला दुनियाँमा नयाँ युद्धको सुरुवात हुन सक्ने अनुमान गरेका थिए ।

युद्ध त भएन तर निर्दोष सर्वसाधारणहरू मारिने क्रम भने रोकिएन । इरानको मिसाइल हमलाका कारण गल्तीवश् युक्रेनियन हवाइ विमान, दुर्घटनामा पर्दा विमानमा सवार सबै १७६ यात्रुहरूको मृत्यु भयो ।

१९७९ देखि नै इरान र अमेरिकाबीच चर्काचर्की सुरु भएको थियो तर २०१८ मा ट्रम्पले आणविक सम्झौता रद्द गर्ने घोषणा गरेपछि तनाव उच्च विन्दुमा पुगेको हो । सो सम्झौताअन्‍तर्गत इरानले आफूमाथिको आर्थिक प्रतिबन्ध हटाए आणविक गतिविधि सीमित गराउन सहमति जनाएको थियो ।

तर ट्रम्पले सम्झौताबाट बाहिरिँदै उल्टै इरानमाथि हालसम्मकै कडा प्रतिबन्ध जारी गराएका हुन् । यसले इरानलाई ठूलो आर्थिक संकटमा पारेको छ । अहिले कोरोना महामारीका कारण दुवै देशमा राजनीतिक विषयहरू केही समयका लागि बिलाएका छन् किनकि इरान र अमेरिका दुवै कोभिडबाट अधिक नराम्ररी प्रभावित भएका देशमा पर्छन् ।

प्रकाशित मितिः     4:11:07 PM  |