ग्रिलजन्य फलामको मूल्य अस्वभाविक रुपमा बढ्यो


काठमाण्डौ :  ग्रिल तथा स्टिल व्यवसायीले ग्रिलजन्य फलामको मूल्य अस्वभाविक रूपमा बढेको बताएका छन् ।

व्यवसायीको छाता संगठन ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायीले ग्रिलजन्य फलामको मूल्य अत्याधिक र अस्वभाविक रूपमा बढेको बताएका हुन् । जसका कारण व्यवसाय नै धरासायी हुने स्थितिमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोभिड १९ को कारण बन्द भई मारमा परेका उद्योगहरू विस्तारै सञ्चालनमा आउन नपाउँदै ग्रिलजन्य फलाम र निर्माण सामग्रीको अस्वभाविक रूपमा भएको उच्च मूल्यवृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको बताए । अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा भएको वृद्धिभन्दा नेपाली बजारमा दोब्बर मूल्य बढेको उनको भनाइ छ । केही सीमित उद्योगीको आपसी मिलेमतोमा ग्रिलजन्य फलामको मूल्य बढाइएको पनि अध्यक्ष कटुवालले बताए ।

ग्रिलजन्य फलामाको मूल्य अस्वभाविक रूपमा बढ्दा कोरोनाको संक्रमणका कारण प्रभावित आम उपभोक्तासमेत मारमा परेको अध्यक्ष कटुवालले बताए । यसबाट देशभरी सञ्चालित ११ हजारभन्दा बढी ग्रील उद्योग बन्द हुने जोखिममा रहेको पनि उनले बताए ।

यस्तै, करिब १ लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख व्यक्तिको रोजगारी गुम्ने पनि अध्यक्ष कटुवालले बताए । बजारमा देखिएको अस्वभाविक मूल्यवृद्धिको अनुगमन गरी उचित कारबाही चलाउन सरकारको ध्यानाकर्षणसमेत गराए । व्यवसायीले पछिल्लो दुई महिनामा मात्रै ग्रिलजन्य फलामको मूल्य प्रतिकिलो ६० प्रतिशतभन्दा धेरैले बढेको बताएका छन् । नेपालमा ग्रील व्यवसायले मात्रै वार्षिक ५० अर्ब बढीको ग्रिलजन्य सामग्रीको उत्पादन गर्दै आएका छन् ।

प्रकाशित मितिः     ११ पुष २०७७, शनिबार १९:११  |