स्वास्थ्यकर्मीहरूमाथि कुटपिट घटनामा सङ्लग्नलाई कारबाही गर्न अधिकारकर्मीहरूको माग


भेरी अस्पताल, नेपालगञ्जका स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिट र दुर्व्यवहार घटनामा सङ्लग्नहरूलाई कारबाही गर्न अधिकारकर्मीहरूले माग गरेका छन् । इन्सेक लगायत विभिन्न सङ्घ संस्थामा आवद्ध आधिकारकर्मीहरूले जेठ १४ गते प्रेस विज्ञप्तीमार्फत दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

अधिकारकर्मीहरूले विज्ञप्तीमार्फत भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत दाङ जिल्लाका ५२ वर्षीय पुरुषको मृत्यु घटना पछि मृतकपक्षले उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू माथि कुटपिट र दुर्व्यवहार घटना प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल बार एशोसिएशनका उपाध्यक्ष सुनिल श्रेष्ठ, नेपालगञ्ज उच्च बार एशोसिएशनका अध्यक्ष शिवकुमार श्रेष्ठ, सचिव पदम पाण्डे, जिल्ला बार एशोसिएशनका सचिव गणेशप्रसाद थारु, नेपालगञ्ज उच्च बार एशोसिएशनका निवर्तमान अध्यक्ष बिकास आचार्य, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, आइएचआरसीका अध्यक्ष विश्वजीत तिवारी, नेपाल पत्रकार महासंघ, बाँकेका सचिव कमल डांगी, मानव अधिकार रक्षक सञ्जालका तर्फबाट इन्सेकका अधिकृत विनोद पाण्डे, चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्ण, गैससका बाँके अध्यक्ष नमस्कार शाह, एडभोकेसी फोरमका संयोजक बसन्त गौतम, अधिकारकर्मी रविन्द्र कर्णद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा सङ्लग्नलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न र अस्पतालको सेवा सुचारु गर्नुको साथै भविष्यमा यस्ता घटना दोहरिन नदिन नेपाल सरकार, प्रदेश सरकार र अस्पताल प्रशासन लगायत सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौ भनिएको छ ।

यसैगरी, घटनाका सम्बन्धमा भेरी अस्पताल विकास समितिले जेठ १४ गते जारी गरेको विज्ञप्तिमा स्वास्थ्यकर्मीहरू माथि भएको दु्व्यवहार घटनाप्रति आपत्ती जनाउदै घटनामा सङ्लग्नलाई कारबाहीको माग गरेको छ ।

प्रकाशित मितिः     १५ जेष्ठ २०७८, शनिबार १२:२१  |