नेपालगन्जमा प्रचण्डले भने- हाम्रो कारणले जनतामा जागरण आयो


नेपालगन्ज । नेपाली जनतामा फेरि माओवादीप्रति जागरण पैदा भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

आज पार्टीको राजनैतिक प्रशिक्षण कार्यक्रमलाई नेपालगन्जमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुक पटक-पटक संकटमा परेका बेला माओवादीको अगुवाईमा नै मुलुकले निकास पाएको दाबी गर्दै नेपाली जनताले अहिले फेरि आफ्नो पार्टीलाई भरोसा गरिरहेको बताए । विगतमा केही कमीकमजोरी भएको स्विकार्दै उनले अब पार्टीले कुनै कमजोरी नगर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रचण्डले लुम्बिनी प्रदेशमा सम्पूर्ण शक्तिका साथ पार्टीलाई पहिले भन्दा सफलता दिलाउनतर्फ लाग्न आह्वान समेत गरेका छन् । उनले तराई मधेशमा माओवादीको लहर देखिएको दाबी गरे ।

आजै नेपालगन्जमा पार्टीका नेता स्वर्गीय दामोदर आचार्यको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीले एक इमान्दार र निष्ठावान नेता गुमाएको बताए । शोकलाई शक्तिमा बदल्दै नेपालगन्जको संगठन निर्माणमा जुटेर स्वर्गीय आचार्यको सपना पूरा गर्न नेता कार्यकर्तालाई आह्वान गरे । प्रचण्डले स्वर्गीय आचार्यको सम्मानका लागि मरणोपरान्त केन्द्रीय सदस्य मनोनयनका लागि प्रस्ताव गर्ने बताए।

श्रद्धाञ्जली सभामा नेताहरु कृष्णबहादुर महरा, लिलामणि पोख्रेल, जीवन गौतम, पूर्णा कुमारी सुवेदी, आचार्यकी धर्मपत्नी पार्वता आचार्यले आचार्यको ब्यक्तित्वबारे बोलेका थिए । नेपालगन्ज निवासी माओवादी लुम्बिनी प्रदेश कमिटी सदस्य आचार्यको क्यान्सरका कारण चैत ५ गते निधन भएको थियो ।

प्रकाशित मितिः     १७ चैत्र २०७८, बिहीबार १८:२५  |