नेपालगन्ज- विभिन्न व्यावसायिक संघ-संस्थाहरूले बैंक तथा वित्तीय संस्थाहरूले चर्काे ब्याज असुलेकाे भन्दै सुर्खेत बन्दकाे आह्वान गरेका छ्न् । बैंकहरूले लिएको चर्को ब्याजका विरुद्ध सुर्खेत उद्योग वाणिज्य संघकाे अगुवाईमा १२ वटा व्यावसायिक संगठनहरूले बन्दको आह्वान गरेको हुन् ।
मुलुकमा पछिल्लो समय चुलिँदै गएको आर्थिक संकटका बीच भरथेग गरेरै भए पनि अर्थतन्त्र धानिरहेको निजी क्षेत्रलाई झन् समस्याग्रस्त बनाउने गरी नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पूँजी मार्गनिर्देशन २०७९ र त्यही मार्गनिर्देशनको आडमा आर्थिक मन्दीको अवसर छोपेर निजी क्षेत्रलाई धराशायी बनाउने गरी बैंकहरूले गरिरहेको कडिकसाउप्रति विराेध जनाउँदै बन्दकाे आह्वान गरिएकाे हाे ।
निजी क्षेत्रमा भएको ऋण लगानीको ब्याज मनपरी ढंगले महिनैपिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेक शुल्क लिएर थप आर्थिक भार थप्ने, ब्याज किस्ताका लागि तारन्तार मानसिक दबाब दिने जस्ता कार्यले सिंगो निजी क्षेत्र नै हतोत्साही भएको उनीहरूले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
माग पूरा नभए कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिइएकाे छ ।