काठमाण्डौं – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आफ्नो कार्यकालमा
मन्त्रालयको स्तर उकास्न उल्लेखनीय काम भएको बताउनुभएको छ । सोमबार
मन्त्रालयको जिम्मेवारीबाट विदाई हुँदै मन्त्री अथकले मन्त्रालयको स्तर
उठाएर बिदा हुन लागेको बताउनुभएको हो ।
आफ्नो १४ महिने कार्यकालमा मन्त्रालयको छवि सुधार्न हरसम्भव प्रयास गरेको
उल्लेख गर्दै मन्त्री अथकले दिर्घकालिन महत्व राख्ने धेरै योजनाहरु सुरु गरीएको बताउनुभयो । खेलकुद विश्वविद्यालय स्थापनाको प्रक्रिया अन्तिम
चरणमा पुगेकाले आगामी सरकारले त्यसलाई पूर्णता दिनेमा विश्वस्त रहेको
बताउँदै मन्त्री अथकले खेलाडीहरुको सम्मान र पुरस्कारकालागि नितिगत रुपमै
आधार तयार गरी लागु गरीएको बताउनुभयो ।
लामो समयदेखी हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलतापूर्वक
सम्पन्न गरी खेलकुद क्षेत्रलाई जीवन दिन समेत सफल भएको उहाँको भनाई थियो
। खेलकुदका महत्वपूर्ण संरचना निर्माण गर्ने अभियानलाई समेत आफ्नो
कार्यकालमा तिब्रताका साथ अगाडी बढाएको उल्लेख गर्दै मन्त्री अथकले
मन्त्रालयले सुरु गरेका योजनाहरुलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।
स्वरोजगारसँग जोडिएका सबै निकायलाई एकै ठाँउमा केद्रित गरी स्वरोजगार
प्राधिकरण स्थापनाकालागि पहल गरेपनि त्यसले पूर्णता पाउन नसकेको भन्दै
मन्त्री अथकले नेपालमा स्वरोजगार प्राधिकरणको अपरिहार्यता रहेको
बताउनुभयो । उहाँले आगामी दिनमा उक्त अभियानलाई अगाडी बढाउन समेत सबै
पक्षसँग आग्रह गर्नुभएको छ ।
मन्त्रालयबाट बिदाई हुँदैगर्दा मन्त्री अथकले आफ्नो कार्यकालमा भएका
महत्वपूर्ण उपलब्धीहरु समेटिएको हाते पुस्तक समेत सार्वजनिक गर्नुभएको
थियो । मन्त्री अथकको बिदाईकालागि मन्त्रालयमा सोमबार विशेष कार्यक्रम
आयोजना गरीएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव सुर्य प्रसाद गौतम,
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, राष्ट्रिय युवा
परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल स्काउट र युवा तथा साना
ब्यवसायी कोषका पदाधिकारी सहित मन्त्रालयका कर्मचारीहरुको सहभागीता रहेको
थियो । बिदाई कार्यक्रममा मन्त्रालयका सचिव गौतमले मन्त्री अथकलाई मायाको
चिनो प्रदान गर्नुभएको थियो ।