मुलुककाे अर्थ राजनीतिप्रति धेरै नागरिक असन्तुष्ट -सर्वेक्षण


नेपालग- मुलुकले अर्थ राजनीतिक परिदृश्यप्रति ठूलो संख्याका आम नागरिक असन्तुष्ट रहेको एक सर्वेक्षणले देखाएको छ।

सोमबार सार्वजनिक भएको ‘नेपाली जनमत सर्वेक्षण-२०२२’ ले ४१.७ प्रतिशत नागरिकले मात्र मुलुकले लिइरहेको दिशा सही भएको बताएको देखाएको छ। यो सन् २०२० को यस्तै सर्वेक्षणभन्दा कम हो। सन् २०२० को सर्वेक्षणले करीब दुई तिहाई उत्तरदाताले देशको दिशा सही भएको जवाफ दिएका थिए।

मुलुकको अवस्थाप्रति आशावादी हुने जवाफ दिनेमध्ये ४६ प्रतिशतले बाटोघाटो राम्रो भएको, २१ प्रतिशतले शिक्षाको पहुँच बढेको जवाफ दिएका थिए।

सर्वेक्षणले ग्रामीण क्षेत्रका ७३.७ प्रतिशत र शहरका ६८.६ प्रतिशतले आफू बसेको क्षेत्रबारे सकारात्मक जवाफ दिएका थिए।

सर्वेक्षणले विपन्नको आर्थिक स्थिति महामारीपछि थप बिग्रिएको देखाएको छ। आम्दानी अभावमा ९.६ प्रतिशतले वेलावेलामा भोकै बस्नुपरेको देखाएको छ। यो महामारीअघि ६ प्रतिशत मात्रै थियो। अर्कातिर, उपचार गर्न नसकेको बताउनेको संख्या १.३ प्रतिशतबाट २.९ प्रतिशत पुगेको देखाएको छ।

सर्वेक्षणले सरकारी तथा गैरसरकारी संस्थामाथिको विश्वासको स्तर पनि मापन गरेको थियो। सबैभन्दा बढीले ९१.२ प्रतिशतले नेपाली सेनामाथि विश्वास जनाएका छन्।

त्यस्तै, लोक सेवा आयोगलाई ८८.८ प्रतिशत र सञ्चार माध्यमलाई ८८ प्रतिशतले विश्वास गरेको पाइएको छ। सबैभन्दा कम राजनीतिक दललाई ४४ प्रतिशतले मात्रै विश्वास गरेको सर्वेक्षणले देखाएको छ।

काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्टसको नेतृत्वमा सर्वेक्षण गरिएको हो। यसमा इन्टरडिसिप्लिनरी एनालिस्ट्स (आईडीए, स्थानीय सरकार सबलीकरण कार्यक्रम र स्वी संस्था एसडीसीले सहकार्य रहेको थियो।

सन् २०१८ देखि जनधारणा, सुरक्षा र विवाद समाधान, पहिचान र समाजिक सम्बन्ध, शासन र राजनीतिमा सहभागि र आर्थिक दृष्टिकोण र सूचनामा पहुँच गरी पाँच विषयमा केन्द्रित भएर सर्वेक्षण गरिँदै आएको छ।

सर्वेक्षणमा सातै प्रदेशका ५८८ वडाबाट सात हजार ६० जनालाई नमुनका रुपमा छनोट गरिएको थियो। जसमा १८ वर्ष वा त्योभन्दा माथिका नागरिक सहभागी थिए।

प्रकाशित मितिः     ९ माघ २०७९, सोमबार १६:२७  |