नेपालगन्ज – नेपालगन्जको वीरेन्द्रचोकमा राजा वीरेन्द्रको शालिक पुर्नस्थापनाको तयारी भइरहेको छ । बाँकेबासी नामको ब्यानरमा संगठित भएकाहरुले शालिक राख्ने तयारी गरेका छन् । बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले सबैको सहमतिमै शालिक राख्ने बताए । कार्यक्रमको प्रमुख अतिथी बागेश्वरी मन्दिरका महन्त चन्दननाथ योगी, काँग्रेसका ध्रुव दहाल, राप्रपाका रुद्र न्यौपाने, राप्रपा नेपालका दिपकबहादुर सिंह, नेपाली सेनाका पूर्व मेजर सुरेश पौडेल, आशा बिष्टले बोल्दै शालिक राख्न आवश्यक रहेको बताइन ।
यसको नेतृत्व गरिरहेका भिमबहादुर शाहीको अध्यक्षतामा बिहिवार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले शालिक पुर्नस्थापना गराएरै छाड्ने बताए । नेतृत्वकर्ता शाहीले शालिक तयार रहेको जानकारी दिदै उपयुक्त समयमा पुर्नस्थापना गरिनेमा जोड दिए ।
शाहीले आफुहरु नियम कानून र सबैको सहमतिबाट मात्रै राख्ने पक्षमा भएका कारण सहमति जुटाउन दल,नेपालगन्ज उपमहानगरपालिका र प्रहरी,प्रशासन धाइरहेको बताए । सबै दल र नियमको परिधि भित्रै रहेर शालिक पुर्नस्थापना गर्ने योजना बनाएका उनले सहमति हुने आशाबादी रहेको जनाउ दिएका छन् ।
पत्रकार सम्मेलनमा बागेश्वरी मन्दिरका महन्त चन्दननाथ योगी सहभागि थिए । उनले ईतिहासलाई जोगाउन शालिक राख्नुपर्नेमा जोड दिए । सबैले शालिक राख्न सहमति जनाउनुपर्ने उनको भनाई छ । २०३९ सालमा स्थापना गरिएको शालिक जनआन्दोलनका क्रममा आन्दोलनकारीको चपेटामा आएको थियो । आन्दोलनकारीले शालिक भत्काइदिएका थिए । पत्रकार सम्मेलनको संचालन समसेर चन्दले गरेका थिए ।