बाँकेमा धान उत्पादन उत्साहजनक बढ्ने


नेपालगन्ज । बाँके जिल्लामा यसवर्ष धान उत्पादनमा उत्साहजनक बृद्धि हुने अनुमान गरिएको छ । आवश्यक वर्ष भएको, बाढीप्रकोपको समस्या नभएको मात्रै नभई सिक्टा सिंचाई आयोजनाको पानी खेतसम्म पुगेका कारण धान उत्पादन बृद्धि हुने अनुमान गरिएको हो ।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीका अनुसार, यसवर्ष जिल्लाभर एक लाख ५३ हजार ३ सय मेट्रिकटन धान उत्पादनको अनुमान गरिएको छ । बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती गरिएको थियो । गतवर्ष ३३ हजार ५ सय ३३ हेक्टरमा खेती भएकोमा एक लाख ३३ हजार ५ सय ३३ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । उक्त वर्ष नरैनापुर गाउँपालिकामा करिव ३५ हेक्टरमा सुख्खाका कारण खेती हुन सकेको थिएन ।

‘यो वर्ष आवश्यक बर्षा भइरह्यो । बाढीले धान रोप्दा होस् चाहे काट्दा बाढी आएर नोक्सान गरेन ।’कृषि अर्थबिज्ञ समेत रहेका केसी भन्छन्,—‘सिक्टा सिंचाई आयोजनाले पनि नहरमा पानी छाडेका कारण सिंचाईको व्यवस्था भयो । यि कारणले धान उत्पादन बृद्धि भएको हो ।’ केसीका अनुसार, अधिकांस कृषकले खेतबाट धान काटेर घर भित्रा्इसकेका छन् तर अझै केही ठाउँमा काट्न बाँकी छ । केसी भन्छन्,—‘काला नमक जस्ता धानहरु भित्रा्उन बाँकी रहेको छ ।’ बाँकेमा प्रति हेक्टर उत्पादकत्व समेत गत वर्ष भन्दा बढेको छ । गत वर्ष प्रति हेक्टर धानको उत्पादकत्व ३.८ रहेकोमा यस वर्ष बृद्धि भई ४.२ हुने अनुमान रहेको छ ।

बाँके र बर्दिया जस्ता जिल्लालाई धानको भण्डार समेत भनिन्छ । पर्याप्त मात्रामा धान उत्पादन हुने भएका कारण धानको भण्डार भनिएको हो । आँकाशे पानीको भरमा खेती किसानी गर्दै आएका कृषकलाई बेलाबखत आउने बाढीले धानवालीमा नोक्सानी पुर्याउँछ । यसपटक भने बाढी पनि नआएको र सिक्टा सिंचाई, आकाँशे पानी पनि परेका कारण धान उत्पादनमा बृद्धि हुने अनुमान गरिएको हो ।

यहाँ उत्पादन भएको धान बुधवारबाट नेपालगन्ज—१८,काँरकादोस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्न लागेको मुख्य शाखा प्रमुख रामशरण लामिछानेले जानकारी दिए । उक्त कार्यालयले यस वर्ष ५१ हजार कुईण्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । ३३ हजार कुईण्टल मोटा र १८ हजार मध्यम चामल खरिद गर्न लागिएको छ भने मोटा चामलको मुल्य प्रति कुईण्टल ३ हजार १ सय ९८ र मध्यम चामलको मुल्य ३ हजार ३ सय ६२ कायम गरिएको छ ।

प्रकाशित मितिः     ७ मंसिर २०८०, बिहीबार ०८:०७  |