नेपालगन्ज । रोयल इन्फिल्डले आफ्नो ब्राण्डको सेकेन्ड ह्यान्ड मोटरसाइकल भारतमा बिक्री गर्न छुट्टै नयाँ कम्पनी सञ्चालनमा ल्याएको छ । ‘रिओन’ नामले सञ्चालनमा आएको सो कम्पनीले भारतभर रोयल इन्फिल्डको सेकेन्ड ह्यान्ड मोटरसाइकल बिक्री गर्ने लक्ष्य लिएको छ । यो सेवा तत्कालका लागी भने मुम्वई, दिल्ली, कोलकत्ता, वेंगलोर र चेन्नईमा उपलब्ध हुने उल्लेख गरिएको छ ।
रोयल इन्फिल्डको सेकेन्ड ह्यान्ड मोटरसाइकलमा राइडरको आकर्षण वढिरहेको अवस्थालाई मध्यनजर गरी नयाँ कम्पनी खडा गरिएको कम्पनीका सिईओ गोविन्दराजनले बताएका छन् । नयाँ मोटरसाइकल बिक्री गर्न खुलेका सोरुम जस्तै देखिने सुबिधासम्पन्न आउलेटमार्फत पुराना मोटरसाइकल पनि बिक्री गरिने उनको भनाई छ ।
उनका अनुसार यसरी बिक्री हुने मोटरसाइकललाई कम्पनीले आफ्नो आधिकारिक सर्भिस सेन्टरमा सर्भिसिङ गराएर कन्डिसनमा राख्नेछ । नयाँमा जस्तै पुराना मोटरसाइकल खरिद गर्ने ग्राहकले पनि वारेन्टि र निशुल्क सर्भिसको सुविधा पाउनेछन् । साथै उनीहरुले उचित मूल्यको सुविधा समेत पाउने दाबी गरिएको छ ।