नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघमा मतगणनाका क्रममा महासचिव पदमा उत्पन्न बिवादका बिषयमा आईतवार जिल्ला प्रशासन कार्यालय बाँकेमा छलफल भएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले विवादका पक्षलाई बोलाएर समाधानका लागि पहल गरेका हुन ।
छलफलमा संघको संस्थाप पक्ष र असन्तुष्टपक्षले आआफ्ना कुरा राखे पनि कुनै निष्कर्ष निस्किएन । प्रमुख जिल्ला अधिकारी पोखरेलले सहमति गरेर जान अनुरोध गरेका छन् भने फेरी पनि समस्या समाधानमा लाग्ने उल्लेख गरे ।
आर्थिक मन्दीका कारण प्रभावित भएका उद्योगी,व्यवसायीका समस्या समाधानका लागि पैरवी गर्न केन्द्रीत हुनुपर्ने बेला संघ भित्र समानान्तरण गतिबिधि हुन थालेका छन् भने दैनिक कामकाजमा असर पुगेको छ ।
गत भदौ २ गते भएको निर्वाचनमा ६ मतले विजयी भएका रानाभाटविरुद्ध अर्का उम्मेदवार टंकप्रसाद शर्माले पुनः मतगणनाको माग राख्दै रिट हालेका थिए । रानाभाटले एक हजार ९ सय २६ मत ल्याउदा शर्माले १ हजार ९ सय २० मत ल्याएका थिए ।
प्रमुख निर्वाचन आयुक्तले विजयी घोषणा गर्नुअघि नै शर्माले पुनः मतगणनाको माग राख्दै आएका थिए । त्यसको बाबजुद प्रमुख निर्वाचन आयुक्त टीका सिंहले रानाभाटलाई विजयी घोषणा गरेका थिए । प्रमुख निर्वाचन आयुक्त सिंहले पुनः मतगणना हुने सूचना जारी गरेपछि विवाद बढेको थियो ।
पुनः मतगणना गर्ने सूचना जारी गरे पनि सिंहले फेरि नगन्ने भनेपछि शर्मा अदालत गएका थिए । तर उच्च अदालत तुलसीपुर नेपालगन्ज इजालसका न्यायाधीशद्वय भानुभक्त न्यौपाने र पुनमसिंह चन्दको इजलासले शर्माको रिट खारेज गर्दै निर्वाचन आयुक्तले विजयी घोषणा गरेको कुरालाई मान्यता दिने फैसला गरेको हो । योसँगै महासचिवको विवाद टुंगिएको मानिएको थियो भने रानाभाटले सपथसंगै आफ्नो जिम्मेवारी सम्हालेका थिए ।
तर महासचिव पदका अर्का उम्मेदवार शर्माले उठाएको मुद्दा कार्यसमितिभित्रै उनका प्यानलबाट बिजयी भएका उम्मेदवारहरुले उठाए । उक्त बिषयलाई एजेण्डाकैरुपमा कार्यसमितिमा लैजानुपर्ने बिषयमा यतिबेला बिवाद उत्कृर्षमा पुगेको छ । तर त्यो बढ्दै जाँदा बुधवार असन्तुष्ट पक्षले कार्यसमिति बैठक समेत बसालेर गम्भीर निर्णय गरेको छ जसलाई अध्यक्ष टंक धामीले अवैध र अनाधिकृत भनेका छन् ।