गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनको माग गर्दै ब्यवसायीहरुले गरे भैरहवामा विरोध प्रदर्शन


नेपालगन्ज । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनको माग गर्दै ब्यवसायीहरुले भैरहवामा विरोध प्रदर्शन गरेका छन् ।

भैरहवाको देवकोटा चोक, मिलन चोक, विद्रोही चोक, बर्मेलीटोल हुँदै बुद्ध चोकसम्म र्याली तथा प्रदर्शन गर्दै ब्यवसायीहरुले विमानस्थल पूर्णरुपमा सञ्चालन नभएसम्म निरन्तरुपमा विरोध प्रदर्शनका कार्यक्रम गर्ने बताएका छन् ।

रुपन्देहीमा रहेका ३२ वटा संघसंस्था आवद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले पुर्व घोषित कार्यक्रम अनुसार आज भैरहवामा सडकमा उत्रिएर आन्दोलन थालेको हो । भैरहवाको देवकोटा चोकबाट सुरु भएको विरोध प्रदर्शन बैंकरोड, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर टुंगिएको थियो ।

 

प्रदर्शनमा सहभागीहरुले विमानस्थलमा अ्रध्यागम, भन्सार, क्वारेन्टाइन, हुलाक, श्रम,स्वास्थ्य परीक्षण लगायत विमानस्थलसंग सम्बन्धित सरकारी कार्यालय स्थापना गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

सरकारले आफ्ना माग पूरा नगर्दासम्म आन्दोलन जारी रहने सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । यसअघि सञ्जालले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाएर अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गरेको थियो ।

प्रकाशित मितिः     २४ मंसिर २०८०, आईतवार १४:५३  |