स्वदेशी उत्पादन घट्यो, भारतबाट बिद्युत आयात


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा विद्युत्को अधिकतम माग १ हजार ७०० मेगावाट हाराहारी रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात शुरू गरिएको बताए । ‘अहिले विद्युत् उत्पादन र माग करीब बराबर छ, हाम्रा अर्ध जलाशययुक्त विद्युत्गृहमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक आवरमा चलाइरहेका छौं,’ कार्यकारी निर्देशक घिसिङले भने ।

चैत र वैशाखमा विद्युत् आयातको परिणाम केही बढे तापनि यस वर्ष आयातभन्दा निर्यात बढी हुने अवस्था रहेको उनले बताए । ‘आगामी वैशाखको दोस्रो हप्तादेखि विद्युत् निर्यात पुन: शुरू हुनेछ, यस वर्ष करीब ९०० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिँदै छ, त्यसैले अर्को वर्ष २५–३० अर्ब रुपैयाँको विद्युत् निर्यात हुनेछ,’ उनले भने । ‘दुई देशबीचको प्रसारण सञ्जाल सुधारका लागि ठूलो क्षमताका लाइन बनिरहेका छन् । देशभित्र पनि जलविद्युत् आयोजनाको निर्माण भइरहेका छन्, आगामी पाँच वर्षभित्र वार्षिक करीब १ खर्ब रुपैयाँको विद्युत् निर्यात हुने अवस्था देखिएको छ ।’

गत जेठदेखि मङ्सिरसम्ममा नेपालले १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष गत २८ जेठदेखि भारतीय बजारमा विक्री शुरू गरेको थियो ।

प्राधिकरणले सो अवधिमा दैनिक रूपमा अधिकतम ७०० मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरिएको विद्युत्को औसत विक्रीदर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ । चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मङ्सिर २० सम्ममा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ । निर्यात गरिएको विद्युत्को औसत विक्रीदर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारत निर्यात गर्दै आएको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करीब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि (एनभीभीएन)लाई विक्री गरिरहेको थियो । एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा विक्री गरेको थियो । प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५४७ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । आर्थिक अभियान

प्रकाशित मितिः     २५ मंसिर २०८०, सोमबार १०:१६  |