सिटिजन्स बैंकले १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा घरकर्जा योजना ल्यायाे


काठमाडौं । बैंकले निक्षेपसँगै कर्जाको ब्याजदर पनि घटाइरहेका छन् । सिटिजन्स बैंक इन्टरनेशनलले १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा घरकर्जा योजना ल्याएको छ ।

ऋणीले ७ बर्षसम्म एउटै १०.९९ प्रतिशत ब्याजदर तिरे पुग्छ । ब्याजदर घटबढबाट सधैँ चिन्तामा पर्ने ऋणीहरुले स्थिर ब्याजदरको घरकर्जा योजनाबाट लाभ लिन सक्नेछन् । ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घरकर्जाले पार्नेछ सपना साकार’ योजना अन्तर्गत बैंकले यस्तो घरकर्जा स्किम ल्याएको हो ।

हरेक महिना ब्याजदर थपघट हुने समस्याबाट ऋणीहरुलाई मुक्त गर्ने उदेश्यसहित बैंकले ‘होम लोन’ योजना अघि सारेको जनाएको छ । बैंकले घरकर्जा योजनामा निःशुल्क क्रेडिट कार्ड र डेबिट कार्डको सुबिधा पनि दिएको छ । यस्तै, पहिलो बर्षका लागि लकर सुबिधामा पनि ५० प्रतिशत छुट दिने बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका १९० शाखा, १५१ एटिएम र ९७ वटा शाखारहित बैंकिङ ईकाइहरुबाट सेवा प्रदान गर्दै आएको छ । बैंकका १६ लाख ६४ हजारभन्दा बढी ग्राहक छन् ।

यसअघि नबिल बैंकले १०.४९ प्रतिशत स्थिर ब्याजदरको ‘नबिल सस्टेनेवल हाउजिङ लोन’ स्किम ल्याएको छ, जुन कर्जाको अवधि सात वर्षसम्मको छ ।

ग्लोबल आइएमई बैंकले १०.९९ प्रतिशत स्थिर ब्याजदर घरकर्जा स्किम ल्याएको छ । एनमबि बैंकले स्थिर ब्याजदरको ‘शुलभ घरकर्जा’ स्किम सार्वजनिक गरेको छ । बैंकले १० वर्षसम्मका लागि १०.४९ प्रतिशत स्थिर ब्याजदर (फिक्स रेट) को घरकर्जा योजना ल्याइसकेको छ ।

प्रकाशित मितिः     २६ मंसिर २०८०, मंगलवार ०७:५३  |