यो परियोजना तयार भएपछि पार्क करिब सिंगापुरको क्षेत्रफल जत्रै हुने स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। सिंगापुरको कूल क्षेत्रफल ७३४.३ स्क्वायर किलोमिटर छ। कचमा निर्माण भइरहेको पार्क भने ७२६ स्क्वायर किलोमिटरमा फैलिने र त्यसबाट ३० गिगावाट ऊर्जा उत्पादन हुनेछ। सो पार्कको नाम नजिकैको गाउँको नाममा खवडा रिन्युएबल इनर्जी पार्क हुनेछ।
‘रन मरुभूमिमा बनाइने सो पार्क अन्तरिक्षबाट देखिनेछ,’ गौतम अडानीले एक्समा लेखेका छन्, ‘२ करोड घरमा पुग्ने ३० गिगावाट बिजुली त्यसले उत्पादन गर्नेछ।’
अडानी समूहले आउने ३ वर्षमा सो पार्क बनाउने लक्ष्य लिएको छ। पार्क निर्माण स्थलमा सोलार प्यानल फिट गर्ने काम भइरहेको छ। यस्तै, वाइन्ड टर्बाइन बनाउने कार्य पनि भइरहेको छ। सामान ढुवानीको लागि पनि सयौं प्राविधिक र कामदार खटिएका छन्। यो प्रोजेक्ट पूरा गर्न करिब ४ हजार जना खटिएको लाइभ मिन्टले उल्लेख गरेको छ। यस्तै, करिब ५०० इन्जिनियरले यहाँ रोजगारी पाएका छन्।
महत्त्वाकांक्षी लक्ष्यका साथ भइरहेको पार्क निर्माणमा समस्या पनि छन्। अहमदावादमा रहेको अडानी ग्रीनको प्रबन्ध निर्देशक बिनित जैनले हाल यो परियोजना संचालन भइरहेको ठाउँ काम गर्न सजिलो क्षेत्र नभएको बताएका छन्। यो ठाउँमा कुनै मानव बस्ती नभएको, उत्पादन नहुने र उच्च गतिमा हावा र पानी पर्नुका साथै भूकम्प जोखिम क्षेत्र भएको उनले बताए।
‘यो ठाउँमा काम सुरु भएको ६ महिना पूरा भएको छ। अप्रिलबाट हालसम्म आधारभूत पूर्वाधार निर्माणमै समय गएको छ,’ उनले भने।
भारत सरकारका अनुसार यो परियोजनाको लागत खर्च २.२६ बिलियन अमेरिकी डलर (करिब ३ खर्ब नेपाली रुपैयाँ) छ।
रन मैदान भनेर चिनिन साल्ट डेजर्ट मानव बस्तीभन्दा ७० किलोमिटर नजिक छ। त्यही मैदानको बीचमा यो पार्कको निर्माण भइरहेको हो। भारत र पाकिस्तानबीचको सीमामा पर्ने यो मरुभूमि क्षेत्र दुवै देशको लागि रणनीतिक हिसाबले महत्त्वपूर्ण छ। दुई देशबीच यहाँ कहिलेकाहीँ तनावपूर्ण अवस्था सिर्जना हुने गर्छ।
यससँगै अडानी समूहले गुजरातमै फ्याक्ट्री स्थापना गरेर सो पार्क निर्माणका लागि चाहिने आवश्यक उपकरण र पाटपुर्जाको उत्पादन पनि गरिरहेको छ। त्यस नजिकै रहेको वायु ऊर्जा उत्पादन गर्ने फ्याक्ट्रीले पनि एक वर्षमा ३०० टर्बनाइन ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ।
मोदीको नारालाई अडानीको साथ
गत महिना दुबईमा सम्पन्न कोप-२८ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०७० भित्र जिरो कार्बन इमिसनको लक्ष्य पूरा गर्ने बताएका थिए। हाल भारत विशेषगरी कोइला र अन्य फोसिल फ्युलमा अधिक निर्भर छ। कोइलाबाटै भारतमा ७० प्रतिशत बिजुली उत्पादन हुने गरेको छ। भारतमा हाल रिन्युएबल इनर्जीले मात्रै १० प्रतिशतको योगदान दिन्छ।
हिन्दुस्तान टाइम्सका अनुसार मोदीले अमृत तत्व भन्दै पाँच विषयलाई प्राथमिकताका साथ उठाएका थिए। उनले सन् २०३० सम्म ५०० गिगावाट नन-फोसिल इनर्जी उत्पादन गर्ने घोषणा गरेका थिए। यस्तै, सन् २०३० भित्रै भारतलाई चाहिने ऊर्जाको ५० प्रतिशत नवीकरणीय ऊर्जाबाट पूरा गर्ने उनले बताएका थिए। मोदीले अहिले देखि सन् २०३० सम्म कार्बन इमिसन १ बिलियन टन घटाउने र अर्थतन्त्रमा कार्बनको निरन्तरतालाई ४५ प्रतिशतले कम गर्ने वाचा गरेका थिए।
पाँचौं अमृत तत्वमा भने मोदीले सन् २०७० सम्म भारतले नेट जिरोको लक्ष्य पूरा गर्ने बताएका थिए।
अडानीको यो रिन्यूएबल प्रोजेक्ट मोदीको सोही लक्ष्यलाई पूरा गर्न सहयोगी हुनेछ। भारतीय प्रधानमन्त्री र अडान समूहका मालिक गौतम अडानबीच निकट सम्बन्ध रहेको चर्चा भारतीय राजनीतिकमा नौलो होइन।
अडानीले पनि मोदीको ‘आत्मनिर्भर भारत’को नारालाई सार्थक बनाउने भन्दै नवीकरणीय ऊर्जा पार्क निर्माणमा संलग्न हुन पाउँदा खुशी भएको बताएका छन्।
‘यो परियोजना भारतको दिगो नवीकरणीय ऊर्जाको प्रयोगमा भारतको लागि कोसे ढुंगा हुनेछ,’ उनले भनेका छन्।
पार्कको चर्चा भइरहँदा त्यसले वातावरणमा पार्ने असरबारे पनि आवाज उठिरहेको छ। पार्क बनाउन कुनै प्रकारको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरेको भन्दै त्यसको गम्भीर असर पर्न सक्ने तर्फ वातावरण संरक्षण अभियन्ताहरुले भनिरहेका छन्।
कच भारतकै सबैभन्दा ठूलो जिल्ला हो। यो जिल्ला आकारमा डेनमार्क जत्रो ठूलो छ। कचमा यस्तो परियोजना संचालन गर्न धेरै ठाउँ भए पनि साल्ट डेजर्टमै पार्क बनाउनु दुर्भाग्यपूर्ण हुनसक्ने भन्दै अभियन्ताहरुले आलोचना गरिरहेका छन्।
आलोचनाका स्वरबीच समर्थन गर्नेहरु पनि छन्। स्थानीय पार्कले त्यहाँको अर्थतन्त्रमा पार्ने प्रभावलाई लिएर ‘पर्ख र हेर’को रणनीतिमा छन्। पार्क बन्ने ठाउँका स्थानीय भने सो परियोजनाले आफ्नो ठाउँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा आशावादीसमेत रहेको स्थानीय मिडियाले उल्लेख गरेका छन्।