शितलहरबाट सुरक्षित हुन बाँकेमा चोक-चोकमा दाउरा बाल्ने व्यवस्था मिलाइदै


नेपालगन्ज । बाँकेमा शितलहरबाट सुरक्षित हुन पूर्व तयारी शुरु भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बुधवार बसेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बैठकले शितलहर चलेको वेला चोक तथा चहल पहल हुने स्थानमा आगो बाल्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

त्यसका लागि स्थानीय तहहरुले डिभिजन वन कार्यालय वा नजिकको सव डिभिजन वन कार्यालय र बन उपभोक्ता समितिसंग समन्वय गरी स्थानीय सामुदायिक वन मार्फत आवश्यक दाउरा उपलव्ध गराउने, दाउरा उपलव्ध गराउदा सहुलियत दररेटमा समेत उपलव्ध गराउन अनुरोध निर्णय गरेको समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

बैठकमा चिसो तथा शितलहरका कारण हुनसक्ने क्षति न्यूनिकरणका लागि तयार गरिएको शितलहर आकस्मिक योजना,२०८० को मस्यौदा उपर छलफल भएको थियो । छलफलको क्रममा प्राप्त सुझाव समेत समावेश गरी परिमार्जित शितलहर आकस्मिक योजना, बाँके –२०८० स्वीकृत गरिएको छ ।

स्वीकृत उक्त योजनामा उल्लिखित जिम्मेवारी पुरा गर्न सम्बन्धित सबै सरोकारवाला निकायहरूले तत्काल आवश्यक तैयारी तथा पूर्व प्रवन्ध मिलाई कार्यान्वयन गर्ने, साथै सवै नगरपालिकागाउँपालिका विपद व्यवस्थापन समिति तथा सवै विषयगत क्षेत्रले आ–आफ्नो शितलहर पूर्वतयारी बैठक बसी आकस्मिक योजना तयार गरी लागु गर्ने निर्णय गरिएको छ ।

स्थानीय तहसंगको समन्वयमा जिल्ला तथा स्थानीय तहमा कार्यरत सवै संघसस्था, निजिक्षेत्र, नेपाल रेडक्रस सोसाइटीले एक आपसमा समन्वय गरी चिसो तथा शितलहरवाट हुने क्षति न्युनिकरणका लागि गतिविधि सञ्चालन गर्ने निर्णय भएको समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार, स्थानीय तहले चिसो तथा शितलहरका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, जेष्ठ नागरिक, वालवालिका,गर्भवती महिला,सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरी सुची तयार पार्ने र राहत वितरणमा प्राथमिकतामा राख्ने निर्णय भएको छ ।

चिसो तथा शितलहर चलेको वेला चोक तथा चहल पहल हुने स्थानमा आगो बाल्न स्थानीय तहहरुले डिभिजन वन कार्यालय वा नजिकको सव डिभिजन वन कार्यालय र बन उपभोक्ता समितिसंग समन्वय गरी स्थानीय सामुदायिक वन मार्फत आवश्यक दाउरा उपलव्ध गराउने, दाउरा उपलव्ध गराउदा सहुलियत दररेटमा समेत उपलव्ध गराउन अनुरोध निर्णय भएको छ ।

 

प्रकाशित मितिः     २७ मंसिर २०८०, बुधबार १५:०३  |