९९ लाख सहित हुण्डी काराेबारी पक्राउ


काठमाडौं । हुन्डी, अनलाइन जुवा, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबारमा संलग्न भएको आरोपमा थप तीनजना पक्राउ परेका छन् । गत ६ मंसिरमा पक्राउ परेका काठमाडौं बागबजारका रूपेश श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा थप तीनजना समातिएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मीनबहादुर जिसी, आशिष अग्रवाल र कुमार परियारलाई पक्राउ गरेको हो । उनीहरूले श्रेष्ठसँग मिलेर अवैध कारोबार गर्दै आएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई ब्युरोले ९९ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र अमेरिकी डलर सात हजार २६ बरामद भएको थियो । उनले घरमा पैसा गन्ने मेसिनसमेत राख्दै आएका थिए । अनुसन्धानका क्रममा उनले दुई अर्बको त हुन्डी कारोबार गरेको पुष्टि भएको छ । धेरैजसो कारोबार अमेरिकामा भएको छ । उनको हुन्डी कारोबारको खाता नै प्रहरीले बरामद गरेको छ ।

उनले अर्बौँ रुपैयाँ क्रिप्टोको कारोबार गरेको सिआइबीका अधिकारीहरू बताउँछन् । श्रेष्ठसँग मिलेर काम गर्ने अन्य केही व्यक्ति पक्राउ गरी गिरोहमाथि नै अनुसन्धान भइरहेको ब्युरोका एसएसपी दिनेश आचार्यले बताए ।

रूपेशकी श्रीमतीको पनि संलग्नता देखिएको र उनी फरार छिन् । उनका धेरै आफन्त अमेरिका भएकाले उनले त्यहाँ धेरै कारोबार गरेका थिए । हुन्डीको कारोबार क्रिप्टोमार्फत मिलाउने गर्दै आएका थिए ।

प्रकाशित मितिः     २८ मंसिर २०८०, बिहीबार ०९:५१  |