पुमाले इजरायली राष्ट्रिय फुटबल टोलीलाई गर्दै आएको ‘स्पोन्सर’ अन्त्य गर्ने


नेपालगन्ज । जर्मन स्पोर्टस् ब्रान्ड पुमाले सन् २०२४ मा इजरायली राष्ट्रिय फुटबल टोलीलाई गर्दै आएको ‘स्पोन्सर’ अन्त्य गर्ने भएको छ।

पुमाका प्रवक्ताले स्पोन्सरसिप अन्त्य गर्ने तयारी गत वर्षदेखि नै भएको बताएका छन्। इजरायलले गाजामा नरसंहार गरिरहेको भन्दै इजरायललाई समर्थन गर्ने संस्थालाई ‘ब्वाइकट’ गर्नुपर्ने अभियानसँग यसको कुनै सम्बन्ध नभएको कम्पनीले जनाएको छ।

संयुक्त राष्ट्रसंघले गाजामा बालबालिकाको चिहान भएको र त्यहाँ नरसंहार भइरहेको भन्दै युद्धविरामको अपिल गरिरहेको छ। केही दिन युद्धविराम गरिएको भनिए पनि अमेरिकाको सहयोग पाएको इजरायलले गाजामा आक्रमण रोकेको छैन। अन्तर्राष्ट्रिय सहयोग बिना नै गाजामा युद्ध लड्ने अडान इजरायलले लिइरहेको छ।

पुमालाई इजरायली राष्ट्रिय फुटबल टोलीसँगको सहकार्य अन्त्य गर्न पछिल्लो समय ठूलै दबाब परेको थियो। हमासको आक्रमणपछि इजरायलको ‘काउन्टर एट्याक’का कारण प्यालेस्टाइनमा १८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। पुमाजस्तै अन्य ब्रान्डहरुलाई इजरायलसँगको सम्बन्ध तोड्न विश्वभर प्रदर्शनसमेत भएका छन्।

पुमाले भने इजरायल र सर्बियासँगै अन्य फेडिरेसनसँगको सहकार्यमा अन्त्य हुने र पुन: स्पोन्सर गर्न आफूहरुले नसक्ने जनाएको छ। पुमाले नयाँ नेश्नल टोलीसँग सहकार्य गरेर छिट्टै घोषणा गर्ने जनाएको छ।

पुमाले इजरायली टोलीसँग सन् २०१८ मा खेलाडीलाई किट दिने भन्दै सुरुवाती सम्झौता गरेको थियो। त्यसपछि नै पुमाको आलोचना भएको थियो।

प्रकाशित मितिः     २८ मंसिर २०८०, बिहीबार १०:४१  |