काठमाडौं। नेपाल आयल निगमको मासिक नाफा ३२ करोड रुपैयाँ पुगेको छ। कुनै समय घाटामा चलिरहेको निगमले अहिले नाफामा जान थालेको हो।
निगमका प्रवक्तासमेत रहेका उपनिर्देशक मनोजकुमार ठाकुरमा अनुसार अहिले निगमलाई १५ दिनमा १६ करोड रुपैयाँ नाफा हुने गरेको छ। यही मूल्य रहिरहेका निगमले मासिक ३२ करोड रुपैयाँ नाफा आर्जन गर्न सक्ने अवस्था छ।
निगम अहिले समग्रमा २ अर्ब २५ करोड रुपैयाँ नाफामा छ। कुनै समय निगमलाई ५६ अर्ब रुपैयाँ ऋण थियो। तर उक्त ऋण सबै चुक्ता गरेर अहिले निगम यसरी नाफामा गइरहेको अवस्था छ। निगमलाई रुस-युक्रेन युद्धका कारण कच्चा तेलको मूल्य आकाशिएपछि भारतबाट उधारोमा खरिद गर्न बाध्य भएको थियो।
त्यही अनुसार सरकारले तेलको मूल्य नबढाउँदा निगम घाटामाथि घाटा खाँदै गइरहेको थियो। यस्तै सिलसिला चल्दै जाँदा निगमले सरकार र राष्ट्रिय वाणिज्य बैंकबाट १० अर्ब ऋण समेत लिएको थियो। तर अहिले निगमले उक्त ऋण चुक्ता गरेको उपनिर्देशक ठाकुरले बताए।
उनका अनुसार अहिले हवाई इन्धन आन्तरिकमा ८ रुपैयाँ र अन्तर्राष्ट्रियमा २२ रुपैयाँ नाफा छ। पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजलमा २।८० रुपैयाँ नाफा छ।
एलपी ग्यासमा भने निगमलाई अहिले प्रतिसिलिन्डर ३०० रुपैयाँ घाटा रहेको ठाकुरले बताए।