सुदूरपश्चिमका २२ स्थानीय तहलाई पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमाको तालिम


काठमाडौं। सुदूरपश्‍चिम प्रदेशका २२ वटा स्थानीय तहअन्तर्गत जनप्रतिनिधि तथा पर्यटन शाखारयोजना शाखासँग सम्बन्धित कर्मचारीहरुको क्षमता वृद्धि गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहआयोजनामा धनगढीमा पर्यटन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला आज सम्पन्‍न भएको हो।

जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्‍चिम प्रदेशको समन्वयमा यो कार्यशाला आयोजना गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

कार्यशालामार्फत सुदूपश्‍चिम क्षेत्रको ब्राण्डिङ र प्रचारप्रसारमा जोड दिन आवश्यक रहेको जनाइएको छ। कार्यशालामा नेपाल सरकारका पूर्व सहसचिव रमेश कुमार अधिकारीले पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमाका विषयमा हरेक पालिकाको स्पष्ट नीति र कार्यनीति आवश्यक भएको बताए।

बोर्डका प्रबन्धक रोहिणीप्रसाद खनालले पर्यटन प्रवर्धन, ब्राण्डिङका विषयमा प्रस्तुतीकरण गर्दै आफ्नो स्थानीय तहमा भएका पर्यटकीय गन्तव्यको ब्राण्डिङ गर्दै यसको बजारीकरण गर्न आवश्यक रहेको बताए।

कार्यशालामा पर्यटनको विकास, पर्यटन रणनीति, पर्यटन नीति, पर्यटन कार्ययोजना तथा पर्यटकीय गन्तव्यहरूको ब्राण्डिङ रणनीतिहरु, पर्यटन प्रवर्धनका लागि मिडिया परिचालन लगायत विषयमा छलफल गरिएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार कार्यशालामा सुदूरपश्‍चिम प्रदेशअन्तर्गत रहेका बडिमालिका, खप्तड छेडाडाडा, सैपाल, खप्तड छाना, दुहु, अपी हिमाल, दशरथचन्द्र, रामारोशन, टीकापुर, शुक्लाफाटा, बेद्कोट, बेलौरी, घोडाघोडी, अमरगढी, माल्लिकाअर्जुन, साफेबगर, पूर्व चौकी, जानकी, मेलौली, आलिताल चुरे, दीपायल सिल्गढी, त्रिवेणी र दशरथचन्द्रका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता थियो।

प्रकाशित मितिः     २८ मंसिर २०८०, बिहीबार २०:५९  |