नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आई ५० अर्ब ५७ करोड कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा निर्यातमा ३३.३ प्रतिशतले कमी आएको थियो।
गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १४.५ प्रतिशतले कमी आएको छ भने चीन र अन्य देशतर्फको निर्यात क्रमशः ३०७.९ प्रतिशत र ४.७ प्रतिशतले वृद्धि भएको छ।
-
वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागोलगायत वस्तु निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, चिया, ऊनी गलैंचा, रोजिनलगायत वस्तु निर्यात घटेको छ।
चार महिनामा कुल वस्तु आयात ३.८ प्रतिशतले कमी आई ५ खर्ब १२ अर्ब ५० करोड रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा आयातमा १८.१ प्रतिशतले कमी आएको थियो।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.५ प्रतिशत र २७.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.४ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा तयारी पोसाक, एमएस तार, छड, बार तथा क्वाइल, विद्युतीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जालगायत वस्तु आयात बढेको छ भने कच्चा सोयाबिन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एमएस बिलेटलगायत वस्तु आयात घटेको छ।
निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेक प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।
पछिल्लो चार महिनामा कुल वस्तु व्यापार घाटा ३.३ प्रतिशतले कमी आई ४ खर्ब ६१ अर्ब ९४ करोड कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो घाटा १५.९ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.९ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो अनुपात १०.३ प्रतिशत रहेको थियो। त्यस्तै भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ५३ अर्ब ८४ करोडबराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आयात ४२ अर्ब ६९ करोडबराबर भएको थियो।