विशिष्टहरूको निवासमा  ‘फंगि ट्रिटमेण्ट’ मा हरेक वर्ष ५ लाख भन्दा बढी खर्च


काठमाडौं । सरकारले अति विशिष्टहरूको निवासमा  ‘फंगि ट्रिटमेण्ट’ (साङ्ला, फट्याङ्ग्रा, धमिरा लगायतका किरा) व्यवस्थापन गर्ने नाममा मात्र हरेक वर्ष ५ लाख भन्दा बढी खर्च गर्दै आएको पाइएको छ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले प्रधानमन्त्री निवास बालुवाटार, सभामुख निवास बालुवाटार, राष्ट्रपति निवास, तथा मन्त्री निवास पुल्चोकमा हरेक वर्ष सामान्यता दुई ‘फंगि ट्रिटमेण्ट’ गर्दै आएको छ। एक पटक फंगि ट्रिटमेण्ट गर्न जाँदा  ६६ हजार ७ सय २६ रुपैयाँ खर्च भएको बिल सचिवालयको कार्यालयमा पेश भएको छ।

सचिवालयमा पेश भएको एउटा बिलमा उल्लेख भए अनुसार एक पटककोलागि फंगि व्यवस्थापन गर्न जाँदा ५जना विज्ञ प्राविधिक, ५ जना कामदार, ५ वटा फंगि ट्रिटमेण्ट मेसिन, गाउन, टोपी, फेस सिल्ड, बुट, पन्जा प्रयोग भएको जनाइएको छ। यसै गरी फंगि व्यवस्थापन गर्न जाँदा औषधिहरू ट्रान्स पोटेक्स २५० एमएलका ३ वटा, करोथिन २५० एमएलका ३ पिस, रेस्पान्सर ३सय ५० एम एलका ३ पिस, २५ लिटर डिजेल तथा ५० लिटर पानी प्रयोग भएको जनाइएको छ।

अति विशिष्ट बस्ने कोठा, बेड रुम, गेस्ट रुम, हल, किचेन र स्टोरमा फंगि व्यवस्थापन गरिएको जनाइएको छ। यस बाहेक व्यवस्थापन कार्यालयले अति विशिष्टहरू  र उनीहरूका परिवारका सदस्यहरूकोलागि दैनिक प्रयोग गर्ने सामान उपलब्ध गराउँदै आएको छ। यसको लागि व्यवस्थापन कार्यालयले मन्त्री निवास, बालुवाटार तथा राष्ट्रपति निवासमा एक÷एक  वटा छुट्टै युनिट राखेको छ। प्रत्येक युनिट एक÷एक जना कर्मचारी खटाइएको छ।

अति विशिष्टका परिवारका सदस्यहरूले व्यवस्थापन कार्यालयले खटाएका कर्मचारीसँग आफूलाई आवश्यक पर्ने सामानको सूचि बुझाउने गर्छन्। त्यस सूचि युनिटमा बसेका कर्मचारीहरूले व्यवस्थापन कार्यालयमा बुझाउने गर्छन्। त्यस अनुसार व्यवस्थापन कार्यालयले सामान खरिद गरी अति विशिष्टको निवासमा पु¥याउने गर्छ।   नागरिक दैनिकबाट

प्रकाशित मितिः     २९ मंसिर २०८०, शुक्रबार १३:०४  |