नेपालको व्यापारिक गतिविधिमा भन्सार मूल्याङ्कन महत्वपूर्ण प्रक्रियाका रूपमा स्थापित छ । आयात गरिने वस्तुको मूल्य निर्धारण, भन्सार महसुलको दर निर्धारणको आधार हो । यद्यपि, भन्सार मूल्याङ्कन प्रक्रियामा देखिने समस्याहरू र त्यसबाट उत्पन्न हुने विवादहरूले नेपालको व्यापारिक वातावरणमा नकारात्मक असर पारेका छन । भन्सार मूल्याङ्कनमा देखिने समस्या र विवाद नेपालमा व्यापारिक प्रक्रियालाई जटिल बनाउने प्रमुख कारणहरू हुन । यी समस्याको समाधानका लागि प्रविधिको उपयोग, दक्ष कर्मचारीको विकास र पारदर्शिता कायम गर्नेतर्फ ध्यान दिनुपर्छ ।
भन्सार प्रशासन र व्यापारीबीच सहकार्य गरी समस्याको दीर्घकालीन समाधान खोज्न सकिन्छ । यस्तो प्रयासले मात्र नेपालको व्यापारिक वातावरणलाई विवाद रहित, व्यवस्थित र प्रतिस्पर्धी बनाउन मद्दत गर्नेछ । भन्सार ऐन, २०६४ अनुसार मालवस्तुुको भन्सार मूल्य निर्धारण गर्न तोकिएको प्रक्रियाहरुको चर्चा गरिएको छ ।
(१) नेपालमा पैठारी हुने मालवस्तुुको भन्सार मूल्य निर्धारण गर्दा विश्व व्यापार सङ्गठनको भन्सार महसुल तथा व्यापार सम्बन्धी सामान्य सम्झौता (जनरल एग्रिमेन्ट अन टेरिफ्स एण्ड टे«ड) १९९४ को धारा ७ को सम्झौतामा उल्लिखित भन्सार मूल्याङ्कन सम्बन्धी नियमहरु, अनुसूचीहरु र व्याख्याहरु अवलम्बन गरि गरिने गरिएको छ ।
(२) पैठारी गरिने मालवस्तुको भन्सार मूल्य त्यस्तो मालवस्तुको कारोबार मूल्यको आधारमा निर्धारण गरिनेछ । पैठारीकर्ताले आफुले पैठारी गरेको मालवस्तुको मूल्य प्रमाणित गर्ने विवरण तथा कागजात संलग्न गरी कारोबार मूल्य घोषणा गर्नु पर्नेछ ।
(३) पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्य बुँदा १ अनुरुपको भएमा भन्सार अधिकृतले त्यस्तो कारोबार मूल्यको आधारमा मालवस्तुको भन्सार मूल्य निर्धारण गर्नेछ । त्यस्तो कारोबार मूल्यमा भाडा, बीमा तथा अन्य सम्बद्ध खर्च समावेश भएको नदेखिएमा भन्सार अधिकृतले सोका लागि लाग्न सक्ने अनुमानित रकम जोडी कारोबार मूल्य निर्धारण गर्नेछ र सो अनुमानित रकम कायम गर्ने आधार महानिर्देशकले तोक्न सक्नेछ ।
(४) पैठारीकर्ताले बुँदा ३ बमोजिम घोषणा गरेको मूल्य शङ्कास्पद छ भन्ने विश्वास गर्नु पर्ने मनासिब कारण भएमा भन्सार अधिकृतले निजसँग त्यस्तो मूल्य वास्तविक कारोबार मूल्य हो भनी प्रमाणित गर्ने थप कागजात वा प्रमाण लिखित रुपमा माग गर्न सक्नेछ । त्यसरी माग भएका कागजात उपलब्ध गराउने जिम्मेवारी त्यस्तो पैठारीकर्ताको हुनेछ ।
(५) पैठारीकर्ताले बुँदा ३ बमोजिम घोषणा गरेको कारोबार मूल्य वा पेश गरेको बिल, बीजक र कागजातका आधारमा कुनै मालवस्तुुको भन्सार मूल्य निर्धारण हुन नसकेमा त्यसको कारण सहितको सूचना भन्सार अधिकृतले सम्बन्धित पैठारीकर्तालाई दिनु पर्नेछ ।
(६) बुँदा २ बमोजिम कारोबार मूल्यका आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तुुको भन्सार मूल्य त्यस्तो मालवस्तु पैठारी हुनुभन्दा पहिले नेपालमा पैठारी भइसकेको समरुपको मालवस्तुु (आइडेण्टिकल गुडस) को कारोबार मूल्यको आधारमा निर्धारण गरिनेछ । “समरुपका मालवस्तु (आइडेण्टिकल गुडस)” भन्नाले बनौट, गुण, प्रकृति र विशेषता लगायत सम्पूर्ण कुरा एकै किसिमको भएको मालवस्तु सम्झनु पर्छ ।
(७) बुँदा ६ बमोजिम ससमरुपको मालवस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तुुको भन्सार मूल्य नेपालमा पहिले पैठारी भएको मिल्दोजुल्दो मालवस्तु (सिमिलर गुडस) को कारोबार मूल्यको आधारमा निर्धारण गरिनेछ । “मिल्दोजुल्दो मालवस्तु (सिमिलर गुडस)” भन्नाले सबै कुरामा उस्तै नभएका तर उस्तै बनौट सामग्रीको अंश र उस्तै उस्तै विशेषता भएको कारणले गर्दा उस्तै काम गर्न सक्ने र व्यापारिक रुपमा साटफेर हुन सक्ने मालवस्तु सम्झनु पर्छ ।
(८) बुँदा ७ बमोजिम मिल्दोजुल्दो मालवस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तुु अघि नै नेपालमा पैठारी भई बजारमा पैठारीकर्तासंग असम्बन्धित व्यक्तिलाई बिक्री भएको रहेछ भने त्यसरी बिक्री भएको अधिकतम इकाइको प्रति इकाई बिक्री मूल्यमा नेपालमा लागेको कर, महसुल, अन्य सम्बद्ध खर्च र मुनाफा कटाई (डिडक्टिभ भ्यालु मेथड अनुसार) त्यस्तो मालवस्तुको भन्सार मूल्य निर्धारण गरिनेछ ।
(९) बुँदा ८ बमोजिम भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तुु उत्पादन वा निर्माण गर्न लागेको खर्च र सो मालवस्तु पैठारीकर्तालाई बिक्री गर्दा बिक्रेताले लिएको वा लिन सक्ने मुनाफा समेत गणना गरी (कम्प्युटेड भ्यालु मेथड अनुसार) भन्सार मूल्य निर्धारण गरिनेछ ।
(१०) बुँदा ९ बमोजिम भन्सार मूल्य निर्धारण गर्न नसकिएमा भन्सार अधिकृतले बुँदा (२), (६), (७), (८) र (९) विपरीत नहुने गरी मनासिब आधारमा त्यस्तो मालवस्तुको भन्सार मूल्य निर्धारण गर्नेछ ।
(११) व्यक्तिगत प्रयोजनको लागि यात्रुले ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी सूचना अन्तर्गत पैठारी भएको मालवस्तुु वा विदेशी मुलुकबाट उपहार वा नमूना स्वरूप प्राप्त गरी पैठारी भएको मालवस्तु वा राहत सामग्रीको कारोबार मूल्य खुलाउन नसक्ने कारण जनाई त्यस्तो मालवस्तुको धनीले मूल्याड्ढन गरिदिन निवेदन दिएमा र त्यस्तो व्यहोरा भन्सार अधिकृतलाई उपयुक्त लागेमा वा मूल्य नखुलेको अवस्थामा पेश हुन आएमा निजले त्यस्तो मालवस्तुुको अनुमानित भन्सार मूल्य निर्धारण गर्न सक्नेछ ।
(१२) पैठारीकर्ताले बुँदा २ बमोजिम घोषणा गरेको मूल्य भन्सार अधिकृतले निर्धारण गरेको भन्सार मूल्यभन्दा घटी भएमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुका सम्बन्धमा देहाय बमोजिम गर्न सक्नेछ :–
(क) त्यसरी घटी भएको जति मूल्यमा भन्सार महसुल लाग्ने मालवस्तु भएमा पचास प्रतिशत थप भन्सार महसुल, भन्सार महसुल नलाग्ने भई कृषि सुधार शुल्क वा अन्तःशुल्क मात्र लाग्ने मालवस्तुको हकमा पचास प्रतिशत थप कृषि सुधार शुल्क वा अन्तःशुल्क असुल गरी त्यस्तो मालवस्तु जाँचपास गर्ने वा
(ख) त्यसरी घोषित मूल्यमा पाँच प्रतिशत रकम थप गर्दा हुन आउने रकम पैठारीकर्तालाई भुक्तानी दिने गरी त्यस्तो मालवस्तु खरिद गर्ने गराउने ।
(१३) भन्सार अधिकृतले भन्सार मूल्य निर्धारण गर्दा यस दफामा उल्लेख भएको विधि वा प्रक्रिया अनुकूल नभएमा वा मूल्य शड्ढास्पद छ भन्ने विश्वास गर्नु पर्ने मनासिब कारण भएमा त्यस्तो मालवस्तुको पुनः मूल्य निर्धारण गर्न महानिर्देशकले आदेश दिन सक्नेछ । र त्यस्तो आदेश प्राप्त भएमा भन्सार अधिकृतले आवश्यक जाँचबुझ गरी तीस दिनभित्र पुनः भन्सार मूल्य निर्धारण गरी महानिर्देशकलाई जानकारी दिनु पर्नेछ साथै आदेश दिँदा महानिर्देशकले त्यस्तो मालवस्तु जाँचपास भएको मितिले नब्बे दिनभित्र दिनु पर्नेछ ।
(१४) कुनै पैठारीकर्ताले अधिक बीजकीकरण गरी मालवस्तु पैठारी गरेको भन्सार अधिकृतलाई लागेमा निजले प्रचलित सङघीय कानून बमोजिम आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।
औपचारिक व्यापारलाई प्रवद्र्धन गर्न यथार्थपरक घोषणा र सही मूल्यांकन हुनुपर्नेमा भन्सार कार्यालयहरूले वस्तुको सन्दर्भ मूल्यसूची (डाटाबेस) का आधारमा भन्सार मूल्यांकन गर्ने गरेका छन् जसले भन्सार कार्यालय र पैठारीकर्ता बीच विवाद हुने गरेको पाइन्छ । आयातकर्ताहरूले बिजकको मूल्यका आधारमा भन्सार मूल्यांकन गर्नुपर्ने अडान राख्ने, तर भन्सार अधिकृतहरूले सन्दर्भ मूल्यका आधारमा मूल्यांकन गर्ने भन्ने गरेकाले भन्सार कार्यालयहरूको विवादको स्थिति देखा परेको हो ।
धेरै मुलुकमा कारोबार मूल्यलाई नै आधार मानेर भन्सार शुल्क लगाउने गरिन्छ । नेपाल विश्व व्यापार संगठनको सदस्य भएका कारण सन्दर्भ मूल्यभन्दा यथार्थ कारोबारको मूल्य कायम गरिनुपर्छ किनभने उसका अनुसार कारोबार रकममा भन्सार शुल्क लिइनुपर्छ । त्यस्तै नेपालमा मालवस्तु आयात गर्दा तिनको एचएस कोडको अन्योलले पनि समस्या परेको छ । मालवस्तुको सही वर्गीकरण गर्ने हो भने यस्तो समस्या कम हुन सक्छ । व्यवसायीहरूले सामान आयात गर्दा न्यून बीजकीरण गरेर कम भन्सार तिरिरहेका सरकारको भनाई रहने गरेको छ ।
यी वस्तु कति मात्रामा आयात भए अनि बजारमा कुन मूल्यमा विक्री गरिए भन्ने पारदर्शी र व्यवस्थित डेटाबेस राख्न सकियो भने पनि कारोबार मूल्यका आधारमा भन्सार लगाउँदा देखिएका समस्या सम्बोधन हुन सक्छ ।
संसद्ले कानुन बनाएर भन्सार दर तय गर्छ, तर भन्सार कार्यालयमा बस्ने शाखा अधिकृतले १ सय रुपैयाँमा ल्याएको सामानलाई जबर्जस्ती १ सय २० रुपैयाँमा ल्याएको हो भनेर सोही अनुसार भन्सार तिर्न लगाइरहेका हुन्छन । न्यून बिजकीकरणको समस्या भए पनि त्यो समस्याको समाधान सन्दर्भ मूल्य हुन सक्दैन ।
लेखक नेपालगन्जका चार्टर्ड एकाउन्टेन्ट हुन ।