
नेपालगन्ज । बाँके स्थित खजुरा गाउँपालिकाले आइतबार आफ्नो प्रथम चौमासिक सार्वजनिक सुनवाई सम्पन्न गरेको छ ।
निर्माणकै क्रममा रहेको गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयको प्रशासनीक भवनमा पसिरमा औपचारिक कार्यक्रम गर्दै गाउँपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । सार्वजनिक सुनुवाई मार्फत गाउँपालिकाले सात बुँदे प्रतिबद्धता जनाएको छ।
गाउँपालिकाले बाटोघाटो निर्माणमा तिब्रता दिइने, सबै कार्यालयमा नागरिक वडापत्र राखिने, आयोजनाहरुमा अनिर्वाय सूचना पार्टी राख्ने, लक्षित वर्गको कार्यक्रममा सबैलाई समेट्ने युवा स्वराेजगारीमा जाेड दिने लगायतका सात बुँदे प्रतिबद्धता जनाएको हो ।
स्थानीयको सुझाव तथा गुनासोपछि गाउँपालिका अध्यक्ष डम्बर बिकले कार्यक्रममा उठेका प्रश्नहरुको गुनासो सम्बोधन गरेका थिए । विकले गाउँपालिकाले हरेक क्षेत्रका निम्ति कार्यहरु गरिरहेको दावि गरे ।

पछिल्लो समय पालिकाको हरेक जनतासँग प्रत्यक्ष जोडिएको क्षेत्रमा आवश्यक कार्यक्रमहरुका निम्ति आवश्यक रकम बिनियोजन गरेर कार्यान्वयनमा ल्याइएको अध्यक्ष बिकले उल्लेख गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले स्वागत गरेकी थिइन भने सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
खजुरा गाउँपालिकाको समन्वयमा कोहलपुरस्थित उत्पिडित सामुदायिक विकास केन्द्रले सहजीकरणमा उक्त सार्वजनिक सुनवाई कार्यक्रम गरिएको थियो ।