नेपालगन्ज । नेपाल आंशिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जले “समान कामको समान ज्याला”काे माग गर्दै आन्दोलनका कार्यक्रम सहित शुक्रबार क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
आंशिक शिक्षकहरुले १८ वर्षदेखि असमान व्यवहार भोग्दै निरीह भएर बाँच्नु परिरहेको ज्ञापनपत्र उल्लेख गरिएको छ । त्रिविकाे निर्देशन अनुसार करार गराउन माग गरिएको छ ।
ज्ञापनपत्रमा महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन गर्ने शिक्षकहरूकाे समस्या समाधानका लागि हालसम्म ठाेस प्रस्ताव केन्द्रीय कार्यालयमा पुर्याउन नसक्ने क्याम्पस प्रमुखको विगतको व्यवहारले क्याम्पस प्रमुखकाे व्यवहारले आफुहरूकाे समस्या ज्यूकात्यू रहेको उल्लेख गरिएको छ ।
त्रिविको निर्देशन अनुसार करार नगराएको कारण आफुहरू आन्दोलन गर्न बाध्य भएको बताउदै सबै आस्थाका संघ/संगठन र स्ववियुलाई सहयोग समर्थनका लागि अनुरोध गरेको संघका अध्यक्ष धनिराम थापाले जानकारी दिनु भयो । उहाँका अनुसार आज ज्ञापनपत्र बुझाएको र बाँकी १७ गतेदेखि विभिन्न प्रकारका आन्दोलनका कार्यक्रम रहेको जानकारी दिनु भयो ।
मिति : २०८१/१२/१४
ज्ञापन पत्र
विक्रम सम्वत २०१६ सालमा स्थापित नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय हो। यसले नेपालको उच्च शिक्षामा विशिष्ट भूमिका खेलेको छ। यसले विश्वमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने कानुनको निर्माण गर्ने र व्यवस्थापनका विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका कार्यहरु गरेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउनुमा पनि यस विश्वविद्यालयको महत्त्वपूर्ण भूमिका छ। तर यसमा कार्यरत कर्मचारी र प्राध्यापनरत प्राध्यापकहरूले भने गणतन्त्रमा समानताको हकका लागि भने सधैं संघर्ष गर्नुपरेको तितो यथार्थ छ। त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने महत्वपूर्ण भूमिकामा रहेका आंशिक शिक्षकहरुले १८ वर्षदेखि असमान व्यवहार भोग्दै निरीह भएर बाँच्नु परिरहेको छ ।

समान कामको समान ज्याला होस् भनी विगतका दर्जनौं सङ्घर्षको दवाबबाट आंशिक शिक्षक व्यवस्थापन सम्बन्धी निर्देशिका जारी गर्दै आंशिक शिक्षक व्यवस्थापन गर्न खोजेको त्रिवीले २७ क्याम्पसहरूमा कार्यान्वयन गरिसकेको छ ।
तर यस महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज लगायत १५ वटा क्याम्पसमा उक्त निर्देशिका जारी भएको चार वर्षसम्म पनि कार्यान्वयन नहुनुमा क्याम्पस प्रमुख तथा प्राध्यापकका पेशागत हक हितका लागि काम गर्ने प्राध्यापक संगठनहरूका प्रमुख नेतृत्व को चरम उदासीनता नै प्रमुख कारण हो।
विभिन्न बाहानामा निर्देशिका कार्यान्वयन नगर्ने उद्देश्यका साथ ठोस प्रस्ताव केन्द्रीय कार्यालयमा पुर्याउन नसक्ने क्याम्पस प्रमुखको विगतको व्यवहारले क्याम्पस प्रमुखले यो निर्देशिका लागू गरी आंशिक शिक्षक व्यवस्थापन गर्न मा रुचि नराखेको कुरा त स्पष्ट नै छ । प्राध्यापकहरूकै पेशागत हक हितका लागि स्थापना भएका र त्यसकै लागि संघर्ष गर्दै आएका पेशागत प्राध्यापक संघ संगठनहरूको नेतृत्व समेतले बेवास्ता गर्दा आंशिक शिक्षकहरू थप निराश हुनुपरेको छ ।
तसर्थ हामी यस महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापनरत आंशिक शिक्षकहरू ले “समान कामको समान ज्याला” होस् भनी करार सेवाको नियुक्तीकालागि विगतदेखि नै आन्दोलन तथा संघर्षहरु गर्दै आएको र त्यसलाई क्याम्पस प्रशासनले हालसम्म कार्यान्वयन गर्नमा रुचि नदेखाएका कारण उक्त निर्देशिका अविलम्ब कार्यान्वयन होस् भन्दै हामी हाम्रा विरोधका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य भएकाछौं ।
यसबाट निस्किने जुनसुकै परिस्थितिको जिम्मेवारी वर्तमान क्याम्पस प्रशासनमा रहनेसमेत जानकारी गराउँदछौं।
अध्यक्ष
धनिराम थापा
कार्यक्रमहरु
१. ज्ञापनपत्र बुझाउने : २०८१/१२/१४ ।
२. छलफल तथा अन्तर्क्रिया : २०८१/१२/१७ ।
३. कालो मास्क लगाइ पठनपाठन सहितको रिले धर्ना : २०८१/१२/१९ गतेदेखि
४. तालाबन्दी : २०८१/१२/२५ गतेदेखि
५. भण्डाफोर : २०८१/१२/२५ गतेदेखि
६.परीक्षा सञ्चालनमा असहयोग : २०८१/१२/२९ गतेदेखि
७. पठन पाठन बन्द : २०८२/०१/०२ गतेदेखि
८. क्याम्पस हाता प्रवेशमा निषेध : २०८२/०१/०९ गतेदेखि
बोधार्थ
त्रि.वि.प्राध्यापक संघ म.ब.क्याम्पस इकाइ समिति
प्रजातन्त्रवादी प्राध्यापक संघ म.ब.क्याम्पस इकाइ समिति
प्रगतिशिल प्राध्यापक संगठन म.ब.क्याम्पस इकाइ समिति
नेपाल राष्ट्रिय प्राध्यापक संगठन म.ब.क्याम्पस इकाइ समिति
सहायक क्याम्पस प्रमुख म.ब.क्याम्पस नेपालगन्ज
बिभागिय प्रमुख म.ब.क्याम्पस नेपालगन्ज
स्व.वि.यु. म.ब.क्याम्पस नेपालगन्ज