बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ ले आर्थिक वर्ष २०८२/८३ को नगरसभाबाट पारित नगर विकास योजनालाई मूर्तरूप दिन शनिवार बृहत् भेला आयोजना गरेकाे छ ।
वडाध्यक्ष दिपककुमार बर्माका अनुसार, भेलाको मुख्य उद्देश्य स्थानीय स्तरबाट योजना छनोट गरी प्राथमिकता निर्धारण गर्नु थियाे जसले गर्दा आगामी बजेट निर्माणमा जनसहभागिता सुनिश्चित गरेकाे छ ।
वडा भेलामा सहभागी टोल र बस्तीका बासिन्दाले स्वास्थ्य, कृषि, सडक, यातायात, रोजगारी, मठमन्दिर, धार्मिक तथा संस्कृति, खानेपानी, सरसफाई, विद्युत लगायतका पूर्वाधार विकास सम्बन्धी योजनाहरू टिपोट गरी ल्याएका थिए । ‘यसरी संकलित योजनाहरूलाई भेलामा छलफल गरी प्राथमिकताका आधारमा छनोट गरिनेछ,’ वडाध्यक्ष बर्माले भने ।
वडा अध्यक्ष वर्माका अनुसार, यस भेलाबाट प्राप्त सुझाव र योजनाहरूलाई नगर विकास योजनामा समावेश गरिनेछ र सोही आधारमा आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिनेछ । यो प्रक्रियाले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा बजेट निर्माण हुने र विकासका कार्यहरू अझ प्रभावकारी बन्ने विश्वास लिइएको छ ।
‘वडा भेला बजेट निर्माणको आधारभूत र प्रारम्भिक चरण हो,’ नेपालगन्ज – १८ मा दोस्रो कार्यकाल नेतृत्व गरिरहेका वडाध्यक्ष बर्माले भने, ‘यसले बजेट बनाउने कार्यविधिमा निम्न महत्वपूर्ण भूमिका खेल्छ ।’

वडाध्यक्ष बर्माका अनुसार, वडा भेलाले स्थानीय टोल र बस्तीका बासिन्दाहरूको प्रत्यक्ष आवश्यकता र समस्याहरू पहिचान गर्न मद्दत गर्छ । ‘भेलामा छलफल गरिएका योजनाहरूमध्ये सबैभन्दा महत्वपूर्ण र अत्यावश्यक योजनाहरूलाई प्राथमिकता दिइन्छ,’ उनले भने, ‘जसले गर्दा बजेट सीमित स्रोतसाधनको अधिकतम उपयोग हुन्छ ।’
यसले जनसहभागिता सुनिश्चितता गर्ने अनुभव सुनाउँदै वडाध्यक्ष बर्माले भने, ‘यस प्रक्रियाले बजेट निर्माणमा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्दछ, जसले गर्दा विकासका कार्यहरू जनमुखी र प्रभावकारी हुन्छन् ।’
पारदर्शिता र जवाफदेहिताका लागि पनि वडा भेलाको महत्व रहेको वडाध्यक्ष बर्माको बुझाइ छ । ‘जनताका सामुन्ने योजना छनोट गर्ने प्रक्रियाले बजेट निर्माणमा पारदर्शिता ल्याउँछ र जनप्रतिनिधिहरूलाई जवाफदेही बनाउँछ,’ नेकपा एमालेका युवा नेतासमेत रहेका वडाध्यक्ष बर्माले भने ।
नेकपा एमाले बाँकेका पुर्व उपाध्यक्ष डिल्ली बिसी नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ काे वार्षिक भेला ऐतिहासिक भएको बताउँछन् । यसरी वडावासी सहभागी हुने भेला आफुले न देखेको बताउदै उनले वडा अध्यक्ष दिपक वर्मा सहितकाे टिमले धन्यवाद दिए ।
आर्थिक बर्ष २०८२/२०८३ को योजना तर्जुमा तथा वडा भेला कार्यक्रम सहभागीलाई वडा अध्यक्ष बर्माले धन्यवाद दिएका छन् ।