आगामी बजेटमा यस्ता छन् नरैनापुर गाउँपालिकाका प्राथमिकता


 

बाँके (नरैनापुर) : नरैनापुर गाउँपालिकाले आफ्नो १८ औं गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष एवम् सभाध्यक्ष शैयद इस्तियाक अहमद शाहले गाउँसभामामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

यस्तै उपाध्यक्षका तर्फबाट नरैनापुर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष एवम् सभाका सदस्य प्रेमचन्द्र मौर्यले ५१ करोड ६३ लाख ३८ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरे ।

प्रस्तुत नीति तथा कार्यक्रम र बजेटलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिए । नरैनापुरको नीति कार्यक्रममा कृषितर्फ ‘कृषि उपज बजारसम्म मुनाफा किसानको खल्तिसम्म’ पुग्नेगरी मूर्त र वस्तुवादी कार्यक्रम बनाउने उल्लेख गरिएको छ ।

कृषि पकेट क्षेत्रको विकास र विस्तार गर्दै एक टोल एक उत्पादन कार्यक्रम तर्जुमा गर्ने, किसान सूचिकरण तथा परिचय पत्र वितरणको कामलाई यथाशिघ्र लागुगर्ने, रैथाने बाली संरक्षण गर्ने र जैविक खेती किसानको कार्यक्रम लागु गर्ने नीति ल्याएको छ । यस्तै शिक्षातर्फ ‘शिक्षा विशेष’ कार्यक्रमलाई निरन्तरता दिदै प्रविधिमैत्री, सँस्कृतीमैत्री शिक्षा कार्यक्रमलाई जोड दिदै सामुदायिक विद्यालयमा पुर्वाधारयुक्त प्रविधिमा आधारित गुणस्तरीय र व्यवहारिक र वैज्ञानिक शिक्षा शिक्षण पद्धति सञ्चालन गर्ने, शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न दलित, विपन्न, द्धन्द्ध पीडित असहाय छात्र छात्रालाई प्रोत्साहन गर्न पोसाक तथा शैक्षिक सामाग्री वितरणलाई सहज र सुलभ बनाइने नीति उक्त गाउँपालिकाले लिएको छ ।

शिक्षक तथा विद्यार्थीहरुमा भाषिक शुद्धता र स्पष्ट रुपमा वर्ण मिलाई लेखन सिप विकास गर्न अक्षर सुधार कार्यक्रमलाई क्रमशः पालिका भरका सबै ब्द्यिालयमा विस्तार गर्ने नीति लिइएको छ । यसैगरी स्वास्थ्यतर्फ किशोरी, गर्भावस्था र सुत्केरी स्वास्थ्य सचेतना एवं बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गर्ने, बर्थिङ सेन्टर र प्रयोगशालाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित बनाउने, १५ शैयाको अस्पताललाई भौतिक पूर्वाधारसहित दक्ष जनशक्तिको व्यवस्थापन गरी सञ्चालन गर्न विशेष व्यवस्था गर्ने नीति गाउँपालिकाले ल्याएको छ ।

पर्यटनतर्फ जिल्लाकै हब बनाउने घोषणा गर्दै थप विकासका ढोका खोलेको उल्लेख गरेको छ । चर्चित धार्मिक पर्यटकीय स्थल सन्तानेश्वर, बर्फानी बाबालाई सदरमुकामसँग जोड्ने कार्यलाई निरन्तरता दिने साथै पर्यटकीय मार्गलाई प्रवद्र्धन गर्न संघ र प्रदेश सरकारसँगको सहकार्यमा विशेष कार्यक्रमहरु सञ्चालन गर्ने, रुट गाइड, सूचना केन्द्र सञ्चालन लगायतका सिपमुलक तालिम सञ्चालन गर्ने, निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन कार्य अघि बढाउने नीति लिइएको छ ।

यसैगरी पशुपालनमार्फत पशुपंक्षीजन्य उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउनुका साथै यस्ता उत्पादनलाई निर्यात प्रवद्र्धन गर्न, स्वरोजगार बृद्धि गर्न र आर्थिक विकास गर्ने, रैथाने जातको पशुपंक्षी पालनको संरक्षण गर्दै नश्ल सुधार कार्यक्रमलाई व्यवस्थित बनाउँदै लैजाने र दुध विकास संस्थान स्थापना गरी किसानलाई आत्मनिर्भर बनाउने नरैनापुर गाउँपालिकाले नीति कार्यक्रममा उल्लेख गरिएको प्रमुख प्रशासकीय अधिकृत वलीले बताए ।

नरैनापुरमा निर्माण भइरहेको गाउँपालिका भवनलाई समयमै काम सक्नका लागि निर्माण कम्पनीलाई आग्रह गर्दै निर्माण कम्पनीलाई समयमा रकम भुक्तानी दिन पहल गर्ने नीति बनाइएको छ

प्रकाशित मितिः     १० असार २०८२, मंगलवार २२:०२  |