नेपालगन्ज । कर्णाली प्रदेशमा पछिल्ला वर्षहरूमा सेयर बजारप्रतिको चासो उल्लेखनीय रूपमा बढ्दै गएको छ। यही चासोलाई संस्थागत बनाउनका लागि नेपालिज यङ्ग इन्टरप्रेनर्स फोरम (NYEF) सुर्खेत च्याप्टरको आयोजनामा सुर्खेतमा एकदिने सेयर बजार तालिम कार्यक्रम सम्पन्न भएको छ। शनिबार होटल सिद्धार्थमा आयोजित उक्त कार्यक्रममा २०० भन्दा बढी सहभागिता देखिएको थियो।
सेयर गुरुका रूपमा परिचित सुबास चन्द्र भट्टराईको नेतृत्वमा सञ्चालन भएको तालिम बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म चलेको थियो। तालिममा कर्णालीका विभिन्न गाउँ–बस्तीबाट आएका युवाहरू, व्यवसायी तथा सम्भावित लगानीकर्ताहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए।
कार्यक्रममा सेयर बजारमा सुरक्षित तरिकाले कसरी लगानी गर्ने, बजार विश्लेषणका आधारहरू, टेक्निकल र फन्डामेन्टल एनालाइसिस, सेयर छनोटका विधिहरू, तथा जोखिम व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। प्रशिक्षक भट्टराईले सहभागीहरूलाई सरल र बुझिने भाषामा सेयर बजारसम्बन्धी विषयवस्तु प्रस्तुत गरेका थिए।
तालिमका प्रमुख अतिथि कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगीले यस्ता तालिमहरू कर्णालीका लगानीकर्ताहरूका लागि निकै उपयोगी हुने बताए। उनले भने, “सेयर बजार जस्तो संवेदनशील क्षेत्रमा सहज र जानकारीमूलक पहुँच अत्यावश्यक छ। यस्ता तालिमले जोखिम कम गर्दै दीर्घकालीन लगानी संस्कार विकास गर्न सहयोग पुर्याउँछ।”

फोरमका अध्यक्ष कमल सुवेदीले कर्णालीका युवाहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे। उपाध्यक्ष राजेश बरालले सहभागिहरूको उत्साहले कार्यक्रमको उद्देश्य सफल भएको बताए।
कार्यक्रममा मिडिया पार्टनरको रूपमा अर्थ सरोकार र सहकार्यकर्ताको रूपमा इम्पेरियल सेक्युरिटिजले साथ दिएको थियो। सहभागीहरूले तालिम अत्यन्त उपयोगी, प्रेरणादायक र व्यवहारमा आधारित भएको प्रतिक्रिया दिएका छन्।
प्रशिक्षक भट्टराईले आगामी दिनमा देशका विभिन्न भागमा यस्ता ज्ञानमूलक तालिमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमले कर्णालीमा वित्तीय साक्षरताको विकाससँगै जानकार, जिम्मेवार र आत्मविश्वासी लगानीकर्ता तयार गर्न सहयोग गर्ने विश्वास गरिएको छ।