नबिनालाई ‘एक्टिङ स्टार’काे बिजेता बनाउन एकजुट !


नेपालगन्ज । रियालिटी सो एक्टिङ स्टार मार्फत आफ्नो प्रतिभा देशव्यापी रूपमा चिनाउँदै गरेकी नबिना रानाभाटलाई आज आफ्नै गृह जिल्लामा नायकझैँ स्वागत गरिएको छ ।

परिवार, शुभेच्छुक र उनका साथीहरूले उनलाई नेपालगन्जमा खादा मालासहित भव्य स्वागत मात्र गरेनन्, मिडिया क्याम्पियनमार्फत विजेता बनाउन व्यापक प्रचार–प्रसार पनि सुरु गरेका छन् ।

एपि वान टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित रियालिटी सो एक्टिङ स्टार मा टप १० भित्र प्रवेश गरेकी नबिना रानाभाटलाई जिताउन नेपालगन्ज ग्यालरीको पहलमा स्थानीय पत्रकार, जनप्रतिनिधि, व्यवसायी, कलाकार लगायतका विभिन्न क्षेत्रका व्यक्तिसँग भेटघाट गर्दै नबिनाको जितका लागि भोट अपिल गरिएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव भिमबहादुर रानाभाट र निशा रानाभाटकी छोरी नबिनाको अभिनय शैलीले अहिले देश–विदेशमा चर्चा पाइरहेको छ । अडिसन राउन्डदेखि निरन्तर उत्कृष्ट अभिनय प्रस्तुत गर्दै टप टेनमा पुग्न सफल नबिनाले आगामी चरणमा लुम्बिनी प्रदेश र बाँके जिल्लाको कथा आफ्ना प्रस्तुतिमा जोड्ने सङ्कल्प गरेकी छन् ।

“म बाँकेको मात्र होइन, सम्पूर्ण लुम्बिनी प्रदेशकै छोरी हुँ । कृपया मलाई माया गरेर भोट दिनुहोस्,” नबिनाले स्थानीय अभियानमा सहभागीहरूलाई आग्रह गरिन् । परिवार, शुभेच्छुक र स्थानीय समुदायले भव्य स्वागत गर्दै नबिनालाई ‘लुम्बिनी प्रदेशको गौरव’को रूपमा अघि बढाएका छन् ।

गाउँ–सहरका युवादेखि महिला सङ्घ–संस्थासम्म उनलाई जिताउन सामाजिक सञ्जालदेखि मिडिया क्याम्पेनिङमार्फत व्यापक प्रचारप्रसार सुरु गरिएको छ । अब नबिनाको जित केवल व्यक्तिगत सपना मात्र नभएर सिङ्गो लुम्बिनी प्रदेश र पश्चिम नेपालको सामूहिक गौरवमा परिणत गर्ने समय आएको उनलाई जिताउने अभियानमा लागेका अभियन्ताहरूको भनाई छ ।

प्रकाशित मितिः     ४ भाद्र २०८२, बुधबार ०६:५३  |