
नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले युवाकाे भविष्यलाई एमालेले सुरक्षित गर्ने बताउनुभएको छ । उहाँले राष्ट्र निर्माणका सवालमा धैर्यता देखाउन आग्रह गर्दै अन्यथा दुर्घटना निम्तिने खतरा औल्याउनु भएको छ ।
शुक्रबारदेखि नेपालगन्जमा शुरु भएको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सङ्घ नेपालको १२औँ महाधिवेशनको उद्घाटन समारोहमा महासचिव पोखरेलले एमालेले युवाकाे नाममा राजनीति नगरेकाे तर राजनीतिमा स्थापित गरेकाे बताउनुभयो ।
‘ नेकपा (एमाले) युवाका नाममा राजनीति गर्ने पार्टी होइन । युवालाई राजनीतिमा जोड्ने पार्टी हाे ।’-उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले ११औँ महाधिवेशनबाट एकतिहाइ युवा सदस्य निर्वाचित भएको उल्लेख गर्दै तीन पुस्ता संयोजनको मान्यतालाई एमालेले व्यवहारमा लागू गरेको उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे , ‘राष्ट्र निर्माण गर्ने कुरामा निरास हुनुपर्दैन, युवाको भविष्यलाई एमालेले सुरक्षित गरेको छ ।’
राजनीतिमा ‘तातै खाऔँ, जल्दै मरौँ’ जस्तो हतार गरे सफलता हासिल नहुने उल्लेख गर्नुभयाे ।
‘राजनीतिमा धैर्य र समर्पण चाहिन्छ, हतार गरे दुर्घटना हुन्छ’, उहाँले भन्नुभयाे, ‘युवापुस्ताले भावनामा बहकिएर होइन, परिस्थितिलाई तथ्य र सत्यका आधारमा विश्लेषण गरेरमात्र समाज परिवर्तनको यात्रामा लाग्नुपर्छ ।’
विषयगत ज्ञानसहितको नयाँपुस्ताले राष्ट्रलाई सही दिशा प्रदान गर्न सक्ने भएकाले सचेत युवाहरू राजनीतिमा अगाडि आउनुपर्नेमा उहाँले जाेड दिनुभयाे ।
शुक्रबार नै नेकपा एमाले बाँकेले बाँकेबाट केन्द्रीय सदस्य र आयोग सदस्य बन्नु भएका नेताहरूलाई बधाई ज्ञापन गरेकाे छ ।

