युवा नेता रेशम अधिकारीसहित बर्दियाबाट शक्ति बहादुर बस्नेतलाई नेकपा बर्दियाको सिफारिस


नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बर्दियाले आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। पार्टी जिल्ला कमिटीको बैठकबाट तय गरिएको सिफारिस सूचीमा युवा नेता रेशम अधिकारी प्रमुख रूपमा अघि सारिएका छन्।

सूचनाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ र २ बाट प्रत्यक्षतर्फ विभिन्न नेताहरूको नाम सिफारिस गरिएको छ भने राष्ट्रियसभा निर्वाचनका लागि समेत उम्मेदवारहरूको नाम पार्टी केन्द्रमा पठाइएको छ। सिफारिस सूचीमा युवाहरूको उल्लेखनीय उपस्थिति देखिनु पार्टीभित्र नयाँ पुस्तालाई जिम्मेवारी दिने संकेतका रूपमा हेरिएको छ।

विशेषगरी युवा नेता रेशम अधिकारीलाई सिफारिस गरिनु बर्दियाको राजनीतिमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ। लामो समयदेखि पार्टी संगठन र जनसम्पर्कमा सक्रिय अधिकारीलाई आगामी निर्वाचनमा महत्वपूर्ण भूमिकाका लागि अघि सारिएको नेताहरू बताउँछन्।

त्यस्तै, बर्दियाबाट अनुभवी नेता शक्ति बहादुर बस्नेत पनि उम्मेदवार सिफारिसमा परेका छन्। बस्नेतको राजनीतिक अनुभव र संगठन निर्माणमा योगदानलाई ध्यानमा राख्दै पार्टीले उनलाई समेत अगाडि सारेको जनाएको छ। उनी जाजरकोट बाट पनि सिफारिस भएका छन्।

नेकपा बर्दियाले पार्टीको जिम्मेवारी, समावेशिता र निर्वाचन रणनीतिलाई मध्यनजर गर्दै सिफारिस गरिएको स्पष्ट पारेको छ। अन्तिम निर्णय भने पार्टी केन्द्रबाट हुने जनाइएको छ।

प्रकाशित मितिः     १४ पुष २०८२, सोमबार १८:५६  |