खजुरामा तीन स्वास्थ्य संस्थाबाट पाठेघरकाे मुखकाे क्यान्सर जाँच गरिने


 

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका स्थित रहेका तीन स्वास्थ्य संस्थामा निरन्तर रूपमा पाठेघरको मुखको क्यान्सर जाँच गरिने भएको छ। तीन स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेकाले पनि हाललाई सोही स्थानमा सेवा प्रदान गरिन् लागिएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी ओली केसीले जानकारी दिनुभयाे ।

हाललाई खजुराको उढरापुर स्वास्थ्य चौकी, सितापुर स्वास्थ्य चौकी र खजुरा प्राथमिक स्वास्थ्य केन्द्रमा पाठेघरको मुखको क्यान्सर जाँच गर्ने प्रबन्ध मिलाइएको शाखा प्रमुख केसीले जानकारी दिनुभयाे । अन्य स्वास्थ्य चौकी तथा मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग, शरीरको तौल अनुपात सम्बन्धी परीक्षण गरिने केन्द्रहरूमा पनि यो सेवा प्रदान गर्ने गरी काम भइरहेको खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले जानकारी दिनुभयाे ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले ग्रामीण तह सम्म सचेतना जगाउने स्वास्थ्य स्वयं सेविकाको भुमिका अपरिहार्य रहने उल्लेख गर्नुभयाे । स्वास्थ्य शाखाले सोमबार खजुरा गाउँ पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयं सेबिकासंग नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण समेत गरेको छ।

खजुरा गाउँ पालिकाको स्वास्थ्य शाखाको आयोजनामा महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गरिएको हो। यो फागुन महिनाभर नसर्ने रोगहरूको स्क्रिनिङ कार्यक्रम सञ्चालन भइरहेको शाखा प्रमुख केसीले जनाइन् ।

खजुराको ८ वटै स्वास्थ्य संस्थामा निःशुल्क रूपमै नसर्ने रोगहरूको स्क्रिनिङ सञ्चालन गरिरहेको स्वास्थ्य शाखा प्रमुख केसीले जानकारी दिनुभयाे । मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग, शरीरको तौल अनुपात सम्बन्धी परीक्षण गर्ने कार्य भइरहेको उनले जनाइन् ।

प्रकाशित मितिः     १३ फाल्गुन २०८२, बुधबार ०६:५३  |