काठमाडौँ । बालबालिका र युवामा वित्तीय साक्षरता बढाउन मनाइँदै आएको ‘ग्लोबल मनी विक’ को चौधौँ संस्करण यस वर्ष पनि साताव्यापी मनाइने भएको छ । नेपाल राष्ट्र बैंकको संयोजनमा आगामी चैत २ गतेदेखि ८ गते (मार्च १६–२२) सम्म नेपालमा मनाइने भएको हो । बालबालिका र युवामा वित्तीय साक्षरता बढाउन विश्वभर वर्षेनि मार्च १६–२२ ‘ग्लोबल मनी विक’ मनाउने गरिएको छ ।
राष्ट्र बैंकले कार्यक्रमको संयोजन गर्ने र बैंकहरू तथा वित्तीय संस्थाहरू, लघुवित्त संस्थाहरू, बीमा कम्पनीहरू, सहकारी संस्थाहरू, पूँजीबजारसँग सम्बन्धित निकायहरूलगायत अन्य वित्तीय सेवा प्रदायकहरूको समेत सक्रिय सहभागिता रहने बताएको छ ।
राष्ट्र बैंकले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सबै संघसंस्था, शैक्षिक प्रतिष्ठानहरू, गैरसरकारी संस्थाहरूसहित सरोकारवाला निकायहरूलाई ग्लोबल मनी विकमा सक्रिय सहभागी हुन आह्वान गरेको छ । वित्तीय पहुँच विस्तारसँगै वित्तीय सेवाको सुरक्षित र जिम्मेवार प्रयोग सुनिश्चित गर्नु अहिलेको आवश्यकता रहेको भन्दै बैंकले सामूहिक प्रयासबाट मात्र दिगो वित्तीय समावेशिता सम्भव हुने बताएको छ ।
ग्लोबल मनी विक विशेषगरी किशोरकिशोरी र युवामाझ वित्तीय शिक्षाको महत्त्व बुझाउन र वित्तीय चेतना बढाउन थालिएको विश्वव्यापी अभियान हो । ‘अर्गनाइजेसन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट’ (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि वर्षेनि यो अभियान विश्वव्यापी रुपमा सञ्चालन हुँदै आएको छ ।

नेपालमा पनि राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि यो अभियान सञ्चालन हुँदै आएको छ । यो अभियानले हालसम्म विश्वका १७६ भन्दा बढी देशका करीब ७ करोड बालबालिका, किशोरकिशोरी र युवामाझ वित्तीय चेतना जगाउन सफल भएको ओईसीडीले जनाएको छ ।
ग्लोबल मनी विकको स्थायी नारा ‘सिक, बचाऊ, कमाऊ’ (लर्न, सेभ, अर्न) रहेको छ भने यस वर्षको नारा ‘स्मार्ट मनी टक्स’ रहेको छ । राष्ट्र बैंकले वित्तीय निर्णय लिँदा सचेत सहभागिता, बचत तथा लगानीको संस्कार विकास, डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोग तथा जिम्मेवार उपभोग प्रवर्द्धन गर्नु नै यो अभियानको मुख्य उद्देश्य रहेको बताएको छ ।
अभियानअन्तर्गत विद्यालय तथा क्याम्पसकेन्द्रित वित्तीय शिक्षा कार्यक्रम, अन्तरक्रियात्मक छलफल, निबन्ध तथा वक्तृत्व प्रतियोगिता, डिजिटल वित्तीय साक्षरतासम्बन्धी तालीम, वित्तीय उपभोक्ता अधिकारबारे सचेतनामूलक कार्यक्रमलगायत विविध गतिविधि सञ्चालन हुँदै आएका छन् ।

