
नेपालगन्ज । नेपालगञ्जस्थित माजोङ्ग होल्डिङ्स अन्तर्गत सञ्चालित ‘माजोङ्ग नेपालगञ्ज क्यासिनो’ ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परोपकारी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कम्पनीले वि.सं. २०७९ देखि नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ, जसले समाजमा रगत अभाव न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ। आज भएको रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन्।

त्यसैगरी, वि.सं. २०८० देखि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ भित्रका सरकारी विद्यालयहरूमा अध्ययनरत कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूलाई पूरै शैक्षिक सत्रभरि पुग्ने गरी कापी तथा कलम वितरण गर्दै आएको छ। यस पहलले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको शैक्षिक सामग्री अभाव पूर्ति गर्न सहयोग पुगेको छ।


कम्पनीले वि.सं. २०८१ देखि नेपालगञ्जस्थित नीलसागर वृद्धाश्रम मा मासिक रूपमा खाद्यान्न सहयोग प्रदान गर्दै आएको छ, जसले त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरूको दैनिक जीवनयापनमा सहजता ल्याएको छ।

यसका अतिरिक्त, इम्पेरियल इन्टरटेन्मेन्ट प्रा. लि. ले आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली १०+२ उत्तीर्ण १० जना विद्यार्थीहरूलाई उच्च अध्ययनका लागि पूर्ण शैक्षिक छात्रवृत्ति प्रदान गर्ने योजना पनि सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार, यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा अझ विस्तार गर्दै लैजाने तथा समाजप्रति उत्तरदायी गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

