
पोखरा । ‘छैठौँ एक्यान नेशनल फुटसल टुर्नामेन्ट २०८३’ को उपाधि टिम बाँकेले जितेको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) कास्की च्याप्टरको आयोजनामा पोखरामा सम्पन्न प्रतियोगिताको फाइनलमा टिम बाँकेले टिम सेन्ट्रललाई एक गोलको अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

असोज ९ र १० गते दुई दिन सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ १५ र महिलातर्फ २ गरी १७ टोलीको सहभागिता रहेको थियो।
च्याम्पियन टिम बाँकेले ट्रफी र मेडलसँगै १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता टिम सेन्ट्रलले १ लाख रुपैयाँ तथा तेस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन्।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ नगदसँगै ‘द क्लिफ’मा निःशुल्क स्वीङ वा बन्जी गर्ने अवसर प्राप्त गरेका छन्। सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँ तथा अन्य विधामा उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पुरस्कार पाएका छन्।

एक्यानका केन्द्रीय उपाध्यक्ष अनिल लामिछानेले खेलकुदमार्फत देशका विभिन्न क्षेत्रमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट पेशाकर्मीबीच मित्रता, सद्भाव र सहकार्य बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
देशभरका ५ सयभन्दा बढी चार्टर्ड एकाउन्टेन्ट (सीए) को सहभागितामा सम्पन्न फुटसल प्रतियोगिताले पेशागत सम्बन्धसँगै भ्रातृत्व र खेल भावना अभिवृद्धि गरेको छ।
प्रतियोगितामा बाँकेको कप्तान तथा गोलरक्षक सीए तुलसी काफ्लेले उत्कृष्ट गोलरक्षकको उपाधि समेत हात पारेका छन्। यो उपाधि टिम बाँकेको एक्यान फुटसलमा दोस्रो जित हो।
टिम व्यवस्थापक सीए लोकराज भट्टका अनुसार खेलाडीहरूको मेहनत र लगनशीलताका कारण बाँकेले उपाधि जित्न सफल भएको हो। फाइनल खेलमा सीए सौगात सिजापतिले उत्कृष्ट गोल गर्दै बाँकेको जित सुनिश्चित गरेका थिए।
एक्यान बाँकेको टोलीलाई स्टार पोलिपाइप इन्डस्ट्रिज लिमिटेड, डेलिस डेरी र एभी बुक्स लगायतका कम्पनीले प्रायोजन गरेका थिए।

