बाँकेमा आलु उत्पादन बढ्ने


नेपालगञ्ज । बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । गतवर्ष बाँकेमा ३८ हजार ४ सय ७५ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष पनि मौसम अनुकूल भएको समयभित्र आलु रोपिएकाले उत्पादन राम्रो हुने प्राविधिकको भनाइ छ । यस जिल्लामा काडनर, लालगुलाब, टीपीएस जातको आलु बढी उत्पादन हुने गरेको छ । यहाँका कृषकले कोहलपुरस्थित शीतभण्डारबाट आलुको बीउ खरीद गर्ने गरेको नेपालगञ्ज उपमहानगरपालिका कृषि शाखा प्रमुख जीवनकुमार केसीको भनाइ छ ।
जिल्लाको हिरमिनिया, सीतापुर कोहलपुर, नौबस्तालगायत क्षेत्रलाई आलु उत्पादन विशेष क्षेत्रका रूपमा विकास गरिएको छ । बैजनाथको टिटिहिरियामा स्थानीय ‘थारु जात’ को आलुको पनि राम्रो उत्पादन हुँदै आएको छ । यो क्षेत्रमा किसानले आलुखेती व्यावसायिक रूपमा गर्दै आएका डुडुवा गाउँपालिका हिरमिनियाका किसान इफराद अलि दर्जीले बताए । मौसममा उत्पादन भएको आलु प्रयोग बाह्रै महीना गर्ने उद्देश्यले बाँकेको कोहलपुरमा आलुका लागि शीतभण्डारको निर्माण गरिएको छ भने बैजनाथ गाउँपालिकाको पेडारीमा समेत शीतभण्डार निर्माण भइरहेको छ ।
बाँकेमा मागभन्दा कम आलु उत्पादन हुने गरेकाले भारतबाट समेत आलु आयात हुने गरेको आलुका थोक व्यापारी जङ्गली कुम्हारले जानकारी दिए । जिल्लामा २ हजार ८ सय ५० हेक्टरमा आलु खेती हुँदै आएको छ । रासस

प्रकाशित मितिः     २८ कार्तिक २०७५, बुधबार ०१:४२  |