बाँके : डिभिजनल वन कार्यालय बाँकेले बिभिन्न समयमा बाँकेमा अतिक्रमण परेका वनलाई अतिक्रमण मुक्त बनाउनका लागि रणनीति बनाउने भएको छ । लामो समयदेखि वन अतिक्रमण नहटाईएका बेला वन कार्यालयले सरोकारवाला निकाय सबैको सहयोग र साथ लिएर अतिक्रमण हटाउने तयारी गरिरहेको छ ।
बाँकेमा २१ सय ६६ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेका छन् । बाढी, पहिरो, आगलागीका कारण बिस्तापित भएका परिवार मात्र होइन राजनीतिक आडमा वन अतिक्रमण गरेकाहरुले छाड्न मानेका छैनन् । बिभिन्न तहका निर्वाचन, राजनीतिक हस्तक्षेपका कारण जिल्लास्थित कार्यदलले कुनै पनि निर्णय लिन नसकेको हो । बाढी, पहिरो जस्तो प्रकोपमा परेकालाई सरकारले तत्कालिन समयमा चार महिनासम्मका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको थियो । तर वर्षौ बित्दा समेत बाढी पीडितहरुले वन छाड्न मानेका छैनन् । त्यसमा गैरबाढी पीडित र राजनीतिक संरक्षण घुसेपछि सरकारी निकायले अतिक्रमण हटाउने हिम्मत गर्न सकेका छैनन् ।
बाँकेमा सबैभन्दा धेरै राप्तीपारीका राष्ट्रिय वन अतिक्रमणमा परेका छैन । डिभिजन वन कार्यालय बाँकेका प्रमुख मोहन प्रशाख श्रेष्ठ अनुसार, पछिल्लो समय २०७२ सालमा अतिक्रमण हटाईएको थियो । त्यसयता अतिक्रमणका बिषयमा कुनै निर्णय भएको छैन् । अतिक्रमणमा परेका क्षेत्र अपटेड गरी आगामी कार्ययोजना बनाउने तयारी भइरहेको श्रेष्ठले बताए । ‘वन अतिक्रमण हटाउने कार्ययोजना छ । तर यो कार्यान्वयन गराउनका लागि सबैपक्षको सहयोग र साथ चाहिन्छ ।’— श्रेष्ठले भने,—‘ सबैको सहयोग पाउने बित्तिकै अतिक्रमण हटाउने रणनीति तय गर्छौ ।’ स्थानीय तहले वन अतिक्रमण हटाउन कस्तो भुमिका खेल्छ भन्ने पनि चासोका साथ हेरिएको छ । उसको सहयोग बिना अतिक्रमण हटाउन मुस्किल हुने देखिन्छ ।