भार्गवको निक्षेप र कर्जा लगानी बृृद्धि


लक्ष्मण ढुंगाना

नेपालगन्ज : बाँकेको नेपालगन्जमा केन्द्रिय कार्यालय रहेको भार्गव विकास वैंकको निक्षेप संकलन बढेको छ । बैंकले चालु आर्थिक बर्षको तिन महिनामा २ अर्व ९१ करोड रुपैया निक्षेप संकलन गरेको हो । यो गत बर्षको सोही अवधिको तुलनामा ७३ करोड ८९ लाखले बढी हो । गत आर्थिक बर्ष २०७४÷७५ को असोज मसान्त सम्म २ अर्व १८ करोड ८९ लाख निक्षेप संकलन भएको थियो ।
निक्षेप संकलन बढेसंगै बैंकको ऋण लगानीमा समेत बृद्धि भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासमा १ अर्ब ५९ करोड ८३ लाख ७८ हजार ऋण लगानी भएकोमा यस आवको असोज मसान्त सम्ममा २ अर्ब ६५ करोड २१ लाख लगानी भएको हो । यो गत आवको सोही अवधिको तुलनामा १ अर्ब ५ करोड ३७ लाखले बढी भएको बैंकले जनाएको छ ।
निक्षेप र कर्जा लगानी बढेसंगै बैंकको खुद नाफा समेत बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ४५ लाख १९ हजार खुद नाफा समेत कमाउन सफल भएको भार्गव विकास बैंकको केन्द्रिय कार्यालय नेपालगन्जका प्रबन्धक देवराज ढुंगानाले बताए । अघिल्लो बर्षको तुलनामा चालु आर्थिक बर्षमा निक्षेप र कर्जा लगानी बढेसंगै नाफा समेत बढेको उनको भनाई छ । ‘अघिल्लो आर्थिक वर्षको यस अवधिमा २९ लाख ८९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो’ उनले भने ‘यस आवमा अघिल्लो आवको सोही अवधीको तुलनामा १ करोड ५ लाख रुपैया बढी नाफा कमाउन सफल भएको छ ।’
बैंकको तरलता अनुपात, कर्जा निक्षेप अनुपात लगायतका मौज्दात र आम्दानीको अवस्था राम्रो रहेको प्रबन्धक ढुंगानाको भनाई छ । ५० करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा हाल १० करोड ६६ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको खराब कर्जा अनुपात ०.१७ प्रतिशत, तरलता अनुपात २६.८८, प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५८ पैसा र प्रति शेयर नेटवर्थ १२१ रुपैयाँ २६ पैसा रहेको बैंकले जनाएको छ ।

प्रकाशित मितिः     ७ मंसिर २०७५, शुक्रबार १५:५५  |