बाँके : चौथो नेपालगन्ज पिस म्याराथनको उपाधि नेपाल प्रहरीका भुमिराज राईले जितेका छन् । राईले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घन्टा ३२ मिनेट ३० सेकेन्डमा पार गर्दै उपाधि जित्नु भएको हो । उनले नगद ६० हजारसहित ट्रफी र प्रमाणपत्र हात पारे ।
दोस्रो भएका सशस्त्र प्रहरीका खिमबहादुर खत्रीले २ घन्टा ३५ मिनेट ३२ सेकेन्डमा दुरी पार गर्दै ३० हजार हात पार्नुभयो भने सशस्त्र प्रहरीका गणेशसिंह ठकुरीले २ घन्टा ४७ मिनेट २८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो स्थान हात पार्न सफल भए । उहाँले २० हजार प्राप्त गर्नुभयो । महिला हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी एपिएफकी कान्छीमाया कोजीले जिते । कोजुले १ घन्टा २२ मिनेट ४२ सेकेन्डमा दौड पुरा गरे । उनले ३० हजार हात पारे । १ घन्टा २५ मिनेट ४४ सेकेन्डमा दुरी पार गर्दै दोस्रो हुनुभएका सशस्त्रकै बृन्दा श्रेष्ठले २० हजार र सशस्त्रकी कृष्णाश्वरी सिन्तकलाले तेस्रो हुदै १० हजार हात पारे ।
सिन्तकलाले १ घन्टा ३१ मिनेट ४५ सेकेन्डमा निर्धारित २१ किलोमिटरको दुरी पार गरे । ५ किलोमिटर दौडमा छात्रातर्फ कालिकोटकी मंगला बुढा पहिलो, दाङका अनिशा चौधरी दोस्रो र दाङकै सुमित्रा चौधरी तेस्रो भए । छात्रतर्फ जुम्लाका नरेश बुढा पहिलो भए भने बर्दियाका माधव चौधरी दोस्रो र कालिकोटका सन्तोषनाथ योगी तेस्रो भए । ति दुई विधामा शीर्ष चारजनालाई पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद प्रदान गरिएको छ । क्रियटिभ्स ह्यान्ड्सको आयोजनामा भएको नेपालगन्ज म्याराथनको विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाले पुरस्कार वितरण गरे ।
दश बर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेलाई स्मरण गर्दै नेपालगन्ज म्याराथन आयोजना गरिदै आइएको छ । सोहि अवसरमा बाँके जिल्ला तथा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जमा कार्यरत प्रशिक्षक र कर्मचारीले गिनीज बुकमा नाम लेखाउन सफल किर्तिमानी धावक हरिबहादुर रोकायलाई आर्थिक सहयोग गरेका छन् । क्षेत्रीय निर्देशक जयन्त शर्माले २० हजार रुपैयाँ रोकायलाई हस्तान्तरण गरे ।
किर्तिमानी धावक रोकायको उपचारमा सहयोग पुगोस भन्ने हेतुले समितिका प्रशिक्षक र कर्मचारीबाट संकलित रकम हस्तान्तरण गरिएको उहाँले जानकारी दिए । केही महिना अघि अस्वस्थ भएका किर्तिमानी धावक रोकाय काठमान्डौंमा उपचारपछि फर्कि सक्नु भएको छ । म्याराथन दौडको लागि नेपालगन्जको विपि चोकदेखि कोहलपुरको कौशिलानगरसम्म एकतर्फि सडक खाली गराई दौडने बातावरण मिलाएको थियो ।