कमल डाँगी \भगतराम थारु
बाँके : तीन मिटरको बाटोलाई लक्षित गर्दै बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ गनापुरमा अरवौका दर्जन उद्योग सन्चालन भइरहेका छन् । सडक पूर्वाधारको भरपर्दो व्यवस्था नै नगरी ठुला उद्योग सन्चालन भएपछि स्थानीय बासिन्दा प्रदुषणको मारमा परेका छन् । अत्यन्त साँघुरो र धुलाम्मे बाटोले आवतजावतमा समस्या पारेको त छ नै सर्बसाधारणहरु स्वासप्रश्वास जस्ता गम्भीर प्रकारका रोगबाट पीडित भएको वडा अध्यक्ष सुरेश यादवले जानकारी दिए ।
स्वास्थ्य परिक्षण गराउँदा गाउँमा सबैभन्दा धेरै स्वासप्रश्वासका बिरामी देखिने गरेको उनले बताए । प्रिपरहवाचोकदेखि खजुरारोड जाने बाटो आसपासमा दर्जन बढि उद्योग सन्चालनमा छन् । सिमेन्ट, आईरन, जडिबुटी, प्लाष्टिक उत्पादन जस्ता करोडौको लगानीका उद्योगहरु सन्चालन भइरहेका छन् । ती उद्योगका लागि दैनिक जसो सवारीसाधन आहोरदोहोर गरिरहन्छन । पिच नै नभएको बाटोमा ती सवारीसाधन गुडाउँदा सडक मात्र होइन गाउँ नै धुलोले पुरिन्छ । वडा अध्यक्ष यादवले आफ्नो वडामा जिल्लाकै सबैभन्दा बढि उद्योग सन्चालन भएकोमा अत्यन्त खुसी भएपनि प्रदुषण लगायतका समस्याले पिरोलेको बताए ।
उद्योगमा जानका लागि तीन मिटर बाटो मात्र छ । त्यो बाटो पनि सिक्टा नहरको हो । त्यसक्षेत्रमा सरकारी बाटो नै छैन । निर्माणधिन सिक्टा नहरले तीन मिटर भन्दा थप बाटो दिने अवस्था छैन । यही नहरको साघुरो तीन मिटर बाटोलाई हेरेर यतिका ठुला उद्योग सन्चालन कसरी भयो र त्यसको अनुमति कसरी दियो भन्ने बिषयमा त्यसक्षेत्रका सर्बसाधारणहरुले गुनासो गरेका छन् । वडा अध्यक्ष यादवले उद्योग सन्चालन भइसकेको कारण अब गुनासो गर्ने भन्दा पनि ती उद्योग र आमनागरिकलाई सहज हुने गरी पुर्वाधार निर्माण गरिने बताए ।
यादवका अनुसार नहरको हालको तीनमिटर बाटोमा स्थानीयबासिन्दासंग सहमति गरेर चार मिटर बाटो थप्ने र कुल सातमिटरको बाटोमा पिच गर्ने योजना छ । त्यसका लागि स्थानीयबासिन्दासंग बृहद छलफल गर्ने तयारी भइरहेको छ । नत्र हालकै अवस्थामा सडक पुर्वाधार रहे उद्योगलाई पनि समस्या पर्ने र आमनागरिकको स्वास्थ्यमा समेत गम्भीर असर पर्ने वडा अध्यक्ष यादवले बताए । वडाले सडक पिच गर्न रु ३ करोड बढि रकमको व्यवस्था पनि गरिसकेको छ । तर बाटो एकिन नभएकाले काम सुरु भएको छैन । त्यसका लागि उद्योगी, व्यवसायीहरुले समेत सहयोग गर्नुपर्ने उनले नेपालगन्ज बिजनेशसंगको कुराकानीमा बताए ।
(जानकी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सुरेश यादवसंग गरिएको कुराकानी केहीबेरमा प्रकाशन गर्नेछौं ।)