बाँके : होटल व्यवसायी संघ बाँकेको साधारणसभा तथा जिल्ला अधिवेशन अनिश्चितकाका लागि स्थगित भएको बिषय बिवादित भएको छ । अधिवेशन स्थगित गर्ने वा नगर्ने भन्ने बिषयमा संघको कार्यसमिति दुई खेमामा बिभाजित भएपछि उक्त बिषय बिबादित बनेको छ ।
बिशेष कारण भन्दै संघले अधिवेशन स्थगीत गरेको अध्यक्ष मिनबहादुर थापाले जानकारी दिएका छन् ।
उनका अनुसार अर्को मिति तय नहुँदासम्म अधिवेशन रोकिएको छ । अर्को अधिवेशन कहिले हुन्छ भन्ने टुंगो छैन । यस सम्बन्धमा अध्यक्ष थापाले मंगलबार सूचना समेत प्रकाशित गर्दै छन् । अधिवेशन स्थगित सम्बन्धी समाचार नेपालगन्ज बिजनेशले सार्वजनिक गरेपछि सम्पर्कमा आएका व्यवसायीहरुले अधिवेशन स्थगित सम्बन्धी बिषयको बैधानिकता खोज्दै आक्रोस व्यक्त गरे । उनीहरुले सोमबार दिनभर बैठक बस्ने भने पनि अध्यक्षले कुनै चासो नदिएको र अधिवेशनको सम्पूर्ण तयारी भइसक्दा पनि अन्तिम अवस्थामा आएर जालझेल गरिएको बताए ।
होटल व्यवसायी संघ बाँकेकी बरिष्ठ उपाध्यक्ष उमा ग्राण्डन डाँगीले अध्यक्ष एक्लैले अधिवेशन स्थगीत गर्न नसक्ने बताईन । दिनभर अध्यक्षलाई सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको र अधिवेशन स्थगीत नभएको दाबी गरिन । डाँगी आईतबार घोषणा गरिएको समाबेशी साझा समूहको अध्यक्ष पदकी उम्मेदवार हुन । उनले बहुमत सदस्य अधिवेशन गर्ने पक्षमा रहेको दाबी गरिन ।
पूर्व उपाध्यक्ष नारद पुरीले अधिवेशन स्थगीतको खबरले आफुलाई आश्चार्यमा पारेको बताए । यता अध्यक्ष थापाले धेरै काम गर्न बाँकी रहेकाले अधिवेशन स्थगित भएको र उक्त अधिकार अध्यक्षसंग सुरक्षित रहेको बताए । १५ औं वार्षिक साधारणसभा तथा ९ औं जिल्ला अधिवेशन बुधवार होटल कल्पतरु, न्यूरोडमा हुने भनिएको थियो । यसअघि पुस सात गर्ने भनिएपनि त्यसबेला पनि मिति सारिएको थियो । अधिवेशनको दुई दिन अघि बिशेष कारण जनाउँदै अधिवेशन रोकिएको हो । अधिवेशनका लागि व्यवसायीहरु प्यानल बनाएर उम्मेदवारी घोषणा गरिसकेका थिए ।