नेपालगन्जसंग जोडिएका समस्या समाधान गर्न उत्तरप्रदेशका मुख्यमन्त्री सकारात्मक


बाँके  : भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालगन्जसंग जोडिएका बिभिन्न समस्याका बिषयलाई सकारात्मकरुपमा लिदै समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । नेपालगन्जबाट गएको नीजिक्षेत्रको टोलीसंग सोमबार राती मुख्यमन्त्री कार्यालय लखनउमा भेटघाट गर्दै मुख्यमन्त्री आदित्यनाथले समस्या समाधानका लागि आवश्यक काम गर्ने बताए ।
उच्चस्तरमा भएको भेटघाटले उत्साहित बनाएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताए । ‘निसंकोच भएर कुरा राख्ने काम भयो । व्यापार, व्यवसायको आयात, निर्यात, भन्सार समस्यादेखि आगामी दिनमा नेपालगन्ज क्षेत्रको विकासमा उत्तरप्रदेशबाट हुने सकारात्मक सहयोगका बिषयमा पनि छलफल भयो । दुवैक्षेत्रको सहकार्यबाट यस क्षेत्रको विकास हुने कुरा राखेका
थियौं ।’—बैश्यले भने । बैश्यका अनुसार बागेश्वरी मन्दिरको विकास, कैलाश मानसरोवरको प्वाईन्ट नेपालगन्जलाई बनाउने लगायतका बिषयमा छलफल भएको छ । मुख्यमन्त्री आदित्यनाथ आफु सिमाक्षेत्रको अनुगमन गर्न आउने प्रतिबद्धता जनाएका छन् ।
यहाँबाट गएको नीजिक्षेत्रको टोलीले मुख्यमन्त्रीसंग नेपालगन्ज र उत्तरप्रदेशसंग जोडिएका समस्याहरु खुलेर राखेको टोलीमा सहभागि नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य झलक गैरेले जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले आयात, निर्यातका क्रममा उत्पन्न हुने समस्या, जडिबुटी निर्यातका क्रममा लगाईने चर्को करदेखि उत्तरप्रदेश र नेपालगन्जलाई पर्यटनसंग कसरी जोड्न सकिन्छ भन्ने बिषयमा खुलेर कुरा राखेका थिए ।
डेढ घण्टा नीजिको टोलीसंग मुख्यमन्त्रीले छलफल गरेका थिए । अत्यन्त खुला वातावरणमा छलफल भएको र मुख्यमन्त्री आदित्यनाथ समस्या समाधान बिषयमा सकारात्मक देखिएको पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गैरेले बताए । उनले नीजिक्षेत्रले यहाँको समस्याका बारेमा उत्तरप्रदेशका मुख्यमन्त्रीलाई जानकारी गराउने काम भएको र अब त्यलाई कार्यान्वयन गराउनका लागि सरकारी निकायले चासो दिनुपर्ने जनाए । मुख्यमन्त्री आदित्यनाथ यहाँबाट गएको नीजिक्षेत्रको टोलीसंग अनौपचारिकरुपमा समेत भलाकुसारी गरेका थिए । उनलाई ढाका टोपी लगाईएको थियो भने प्रत्येक टोली सदस्यलाई मुख्यमन्त्रीको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

प्रकाशित मितिः     १० पुष २०७५, मंगलवार ०८:४६  |